९ प्रतिशत जीवन बिमा पोलिसी निष्क्रिय

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

बिमा पोलिसी निष्क्रिय भएपछि बिमितको दुर्घटना भएमा दाबी भुक्तानी गर्न कम्पनी जवाफदेही हुँदैन । तर, बिमा पोलिसी व्यतीत भएको एक वर्षभित्र बिमितको मृत्यु भएमा कम्पनीले बिमा रकम इच्छाएको व्यक्तिलाई भुक्तानी गर्छ ।

नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरूले जारी गरेकामध्ये करिब ९ प्रतिशत पोलिसीहरू बीचमा नै निष्क्रिय (व्यतीत) हुने गरेका छन् । बिमा समितिको तथ्यांकअनुसार १९ जीवन बिमा कम्पनीमध्ये १७ जीवन कम्पनीको बिमा पोलिसी निष्क्रिय औसतमा ८ दशमलव ९१ रहेको छ । यसमा राष्ट्रिय बिमा संस्थानको तथ्यांक समावेश छैन । त्यस्तै, सबैभन्दा कान्छो महालक्ष्मी जीवन बिमा कम्पनीको पोलिसी व्यतीतदर शून्य रहेको छ । बाँकी कम्पनीमध्ये ८ वटाको व्यतीत अवस्था जोखिममा देखिएको हो । 

 आठ कम्पनीको बिमा पोलिसी व्यतीतदर उच्च
१७ जीवन बिमा कम्पनीमध्ये आठवटा जीवन बिमा कम्पनीको बिमा पोलिसी व्यतीतदर उच्च देखिएको छ । समितिको तथ्यांकअनुसार नेसनल लाइफ, एसियन लाइफ, प्राइम लाइफ, आइएमई लाइफ, सन नेपाल, रिलायबल लाइफ र सिटिजन्स लाइफ इन्स्योरेन्सको बिमा पोलिसी व्यतीतदर उच्च देखिएको हो । जसमध्ये युनियन लाइफ र एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा अधिक २१–२१ प्रतिशत देखिएको छ ।

प्राइम लाइफको १९ दशमलव २६, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको १९ दशमलव ५२ प्रतिशत, आइएमई लाइफ इन्स्योरेन्स १८ दशमलव १७, नेसनल लाइफ इन्स्योरेन्सको १० दशमलव २३, सन नेपालको ७ दशमलव ९४ र रिलायबल लाइफ इन्स्योरेन्सको १० दशमलव ७७ प्रतिशत बिमा पोलिसी व्यतीत भएको देखिएको छ । बाँकी रहेका कम्पनीमध्ये सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सको १ प्रतिशतभन्दा कम छ । सूर्या लाइफ इन्स्योरेन्सको १ दशमलव २९, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ दशमलव ६६, मेटलाइफको ३ दशमलव ३, नेपाल लाइफ इन्स्योरेन्सको ३ दशमलव ४, ज्योति लाइफको ३ दशमलव ७७ र रिलायन्स लाइफको ४ दशमलव ६ प्रतिशत रहेको छ । 

 ५ प्रतिशत सीमित राख्न समितिको निर्देशन
बिमा समितिले बिमा पोलिसी व्यतीतदरलाई ५ प्रतिशतसम्म कायम राख्न कम्पनीहरूलाई निर्देशन दिएको छ । उच्च व्यतीतदर देखिएका कम्पनीलाई ५ प्रतिशतमा झार्न निर्देशन दिइएको समितिका कार्यकारी प्रमुख एवं प्रवक्ता राजुरमण पौडेलले बताए । ‘अन्तर्राष्ट्रिय अभ्यासअनुसार बिमा पोलिसी व्यतीतदर ५ प्रतिशतसम्मलाई ठिकै मानिन्छ । त्यसैले हामीले पनि नेपाली जीवन बिमा कम्पनीलाई ५ प्रतिशतमा झार्न निर्देशन दिएका हाैँ,’ उनले भने । तर, जीवन बिमा कम्पनी संघका उपाध्यक्ष पोषकराज पौडेलले भने नेपालजस्तो मुलुकमा १५ देखि २० प्रतिशतसम्मको व्यतीतदरलाई सामान्य मान्नुपर्ने बताए । उनका अनुसार बाह्य मुलुकहरूमा पनि २५ देखि ३० प्रतिशतसम्मलाई सामान्य मानिन्छ । 

 व्यतीत बिमा पोलिसी भनेको के हो ?
बिमितले बिमाशुल्क भुक्तान गरेपछि बिमा पोलिसी नवीकरण हुन्छ । तोकिएको समयमा नवीकरण नगरेमा बिमा पोलिसी व्यतीत हुन्छ । पोलिसी नवीकरणको अथवा बिमाशुल्कको किस्ता भुक्तानी गर्नका लागि ३० दिनको ग्रेस पिरियड हुन्छ । सो अवधिभित्रमा पनि नवीकरण नगरेमा बिमा पोलिसी निष्क्रिय हुन्छ । अर्थात्, उक्त बिमा पोलिसीले बिमितको कुनै पनि जोखिम सुरक्षण गर्दैन । जसलाई बिमा पोलिसी व्यतीत भनिन्छ । म्यादी बिमाको हकमा भने यो प्रावधान लागू हुँदैन । 

 बिमा पोलिसी व्यतीत भएमा के हुन्छ ?
बिमा पोलिसी व्यतीत भएपछि बिमितको दुर्घटना भएमा दाबी भुक्तानी गर्न कम्पनी जवाफदेही हुँदैन । तर, बिमा पोलिसी व्यतीत भएको (बिमा पोलिसी निष्क्रिय भएपछि) एक वर्षभित्र बिमितको मृत्यु भएमा कम्पनीले बिमा रकम इच्छाएको व्यक्तिलाई भुक्तानी गर्छ । तर, दुर्घटनाबाट मृत्यु भएको अवस्थामा भने दाबी भुक्तानी गर्दैन । यस्तो अवस्थामा कम्पनीले आफूले लिनुपर्ने रकम र विलम्ब शुल्क कटाएर मात्रै भुक्तानी गर्छ । 

बिमा पोलिसी नवीकरण गर्नका लागि बिमितहरूले बिमाशुल्क भुक्तानी गर्नुपर्छ । कम्पनीहरूले चारवटा सूचकहरूको पूर्वअनुमान गरी बिमाशुल्क निर्धारण गरेका हुन्छन् । उक्त सूचकमध्ये पहिलो भनेको बिमितको मृत्युदर हो । नेपाली बिमा कम्पनीहरूले नेपाली मृत्युदर तालिका ०६६ अनुसार बिमितको मृत्युदरको अनुमान गर्छन् । दोस्रो भनेको वित्तीय संस्थाको ब्याजदर हो । तेस्रो कम्पनीको व्यवस्थापन खर्च हो भने चौथो बिमा पोलिसीको निरन्तरता अथवा नवीकरण हुँदै जाने पूर्वअनुमान हो ।  

 बिमा पोलिसी व्यतीत हुँदा पर्ने प्रभाव
बिमा पोलिसीको निश्चित अवधि हुन्छ । कम्पनीले तयार पारेको बिमा पोलिसीअनुसार बिमा पोलिसीको पनि अवधि निर्धारण गरिएको हुन्छ । त्यसैगरी, बिमितले आफ्नो इच्छाअनुसार पनि बिमा अवधि तय गर्न सक्छ । नेपालमा प्रायः गरी १०, १५ र २० वर्षे बिमा पोलिसी प्रचलनमा छ ।

कम्पनीले पनि सोही अवधिको गणना गरी बिमाशुल्क निर्धारण गर्छ । तर, उक्त अवधिअगावै बिमा पोलिसी व्यतीत हुँदा कम्पनीलाई आर्थिक नोक्सानी हुन्छ । कम्पनीलाई मात्रै होइन, बिमितलाई पनि उत्तिकै नोक्सानी हुन्छ । किनभने, कम्पनीले बिमितबाट संकलन गरेको पहिलो बिमाशुल्क अभिकर्ता र अन्य सञ्चालन खर्चमा खर्च गरेको छ । दोस्रोपटक संकलन गरिएको बिमाशुल्कबाट मात्रै कम्पनीले लगानी गर्ने रकम बचाउन  सक्छ । त्यस्तै, बिमितले एकपटक मात्रै बिमाशुल्क भुक्तानी गरेको अवस्थामा अधिकांश पोलिसीले जोखिम कभर नै गर्दैनन् । दोस्रो अर्थात् दुई वर्षपछि मात्रै जोखिम कभर गर्छन् । त्यसैले पहिलो बिमाशुल्कपछाडि पोलिसी सरेन्डर गर्न चाहेमा पनि बिमितले केही पनि पाउँदैन ।
 
 मिससेलिङले बढायो  बिमा पोलिसी व्यतीतदर

बिमितलाई बिमाप्रतिको वितृष्णा नै बिमा पोलिसी व्यतीतको मूल कारण भएको बिमाविज्ञ एवं स्वास्थ्य बिमा बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौलाले बताउँछन् । उनका अनुसार वितृष्णा हुनुको कारण भनेको अभिकर्ताले बिमा पोलिसीको बारेमा बिमितलाई राम्रोसँग बुझाउन नसक्नु हो । नेपालको परिप्रेक्ष्यमा जबर्जस्ती बिमा गराउने प्रचलन छ ।

यसरी बिक्री गरिएका अधिकांश बिमा पोलिसी नवीकरण हुँदैनन् । त्यस्तै, नयाँ कम्पनीहरू सञ्चालनमा आउँदा पनि बिमा पोलिसी व्यतीत हुने सम्भावना उत्तिकै बढ्छ । कतिपय अभिकर्ताले आफूले कम्पनी परिवर्तन गर्दा आफ्ना बिमितलाई पनि कम्पनी परिवर्तन गर्न लगाउँछन् । एउटा कम्पनीमा भइरहेको पोलिसी छाडेर अर्को कम्पनीमा बिमा गराउँदा पनि बिमा पोलिसी व्यतीत हुने सम्भावना हुन्छ । अभिकर्ताले पोलिसी मिससेलिङ गर्ने हुँदा पोलिसी व्यतीत हुने समितिका कार्यकारी प्रमुख राजुरमण पौडेलले बताए । उनका अनुसार अभिकर्ताले बिमितलाई बिमाको बारेमा राम्रोसँग बुझाउन नसक्दा यस्तो समस्या आउने गरेको उनको दाबी छ । 

केही हदसम्म भने बिमितको आम्दानीको स्तर खस्केमा वा मुलुकमा आर्थिक मन्दी लागेको अवस्थामा पनि बिमा पोलिसी व्यतीत हुने समितिका बिमाविज्ञ भोजराज शर्माले बताए । 

सुझावित समाचार