अदालत सेटिङमा चलेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति अमर्यादित, तर उहाँको अभिव्यक्तिले फैसलालाई प्रभावित गर्न सक्दैन

शनिबार, ११ असार, २०७८
डिजिटल संस्करण

सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश

आफैँ एउटा पक्ष भएको मुद्दा अदालतमा चलिरहेको अवस्थामा प्रधानमन्त्रीले यसरी टिप्पणी गर्न मिल्दैन । राज्यका तीनमध्येको एउटा अंग र त्यसमा पनि मुद्दामा आफैँ प्रत्यक्ष एउटा पक्ष भएको व्यक्तिले यसरी बोल्नु जायज ठहरिँदैन । उहाँ अदालतमा चलिरहेको मुद्दाको प्रत्यक्ष एउटा पक्ष नै हुनुहुन्छ । त्यो मुद्दाको वादी, प्रतिवादी, निवेदक वा प्रत्यर्थीले प्रभाव पर्ने गरी वा लाञ्छित गर्ने गरी बोल्नुहुँदैन । 

सामान्य व्यक्तिको हकमा त अदालतको अवहेलना मुद्दा नै चल्छ । हामी (पाँचजना पूर्वप्रधानन्यायाधीश)ले मुद्दालाई कुनै असर नपर्ने गरी बोल्दा त अवहेलना मुद्दा अदालतमा पु¥याए । त्यो प्रधानमन्त्रीलाई पनि लागू हुन्छ नि ! अझ हामीले त त्यसरी मुद्दालाई नै असर पुग्ने गरी बोलेका पनि थिएनौँ । हाम्रो कुनै उद्देश्य पनि थिएन । 

सैद्धान्तिक विषयमा बोल्न मिल्छ । यदि सैद्धान्तिक कुरा पनि बोल्न नमिल्ने हो भने वकिलहरूले अदालतमा तर्क राख्न पनि मिल्दैन । हामी त्यो मुद्दाका पक्ष पनि थिएनौँ, विपक्ष पनि थिएनौँ । तर, स्वयं पक्ष नै भएको व्यक्ति र त्यसैमा मुलुकको कार्यकारीजस्तो व्यक्तिले बोल्न नहुने हो ।

प्रधानमन्त्रीले जे बोल्नुभएको छ, अदालतले त्यस्तो गर्छ भन्ने मलाई लाग्दैन । हामी त्यहीँ काम गरेर आएका मान्छे हौँ, हामीलाई अदालतप्रति विश्वास छ । कुनै कालखण्डमा कोही न्यायाधीशले गलत फैसला गरेको थियो भन्ने आधारमा पनि सिंगो अदालतलाई दोष लगाउन मिल्दैन । न्यायालय भनेको कार्यपालिका र व्यवस्थापिकाभन्दा अलग चरित्रको संस्था हो । न्यायाधीशहरू विवेक, स्वविवेक, तर्क र कलममा विश्वास गर्छन् ।

छिमेकी मुलुक भारतमा नै हेर्दा पनि हुन्छ, जहाँ हाम्रोजस्तै व्यवस्था र प्रणाली छ । मन्त्रीहरू वा ठुल्ठूला पदमा वहाल रहेका व्यक्तिले मुद्दा हार्छन्, तर मुद्दा हारे पनि उनीहरू सम्मानित अदालतको फैसलालाई स्वीकार गर्छन् । मुद्दामा हार र जित हुन्छ । अदालतले कानुनको व्याख्या गर्ने हो । अदालतले कानुन र संविधानमा जे हुन्छ त्यसैको व्याख्या गर्ने हो । 

प्राकृतिक न्याय र विधिको शासनको सिद्धान्तको आधारमा फैसला गर्दा त्यसलाई ‘फट्याइँ’ गर्यो भन्न कहाँ मिल्छ ? मुद्दाका पक्षहरूले आफ्नो पक्षमा फैसला गर्दासम्म अदालत ठीक हुने, नत्र गलत हुने, षड्यन्त्र हुने भन्ने हुँदैन । कार्यपालिकाले ठीक काम गरेको छ भने अदालतले ‘ठीक’ भन्दिन्छ । 

अदालत एक दिनका लागि होइन । राजनीतिक रूपमा नेताहरूले भाषण गरेजस्तो अदालतको फैसला हुँदैन । आज गरेको फैसला भोलि नजिर बन्छ । यदि कसैको प्रभावमा परेर अदालतले निर्णय गथ्र्यो भने मीनबहादुर रायमाझी श्रीमान्को पालामा शाही आयोगको फैसला कसरी हुन्थ्यो ? त्यतिवेला राजा ज्ञानेन्द्र शाहको ठूलो शक्ति थियो । त्यत्रो शक्ति हुँदा पनि अदालतले शाही आयोगको कल्पना संविधानभन्दा बाहिर छ भनेर फैसला गर्यो । त्यसैले अदालतबारे मनपरी अभिव्यक्ति दिनु उचित होइन ।

सुझावित समाचार