गण्डकी सरकारमा पूर्वमुख्यमन्त्रीको सम्मान र सुविधाको चिन्ता

महामारीमा ज्यान कसरी जोगाउने भनेर नागरिक त्रसित रहेको वेला गण्डकीको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकमा पूर्वमुख्यमन्त्रीलाई कस्तो सेवा–सुविधा दिने भन्ने छलफल

सोमबार, ३१ जेठ, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशमा सरकारको नेतृत्व फेरिएको छ, तर प्रवृत्ति पुरानै छ । नागरिक महामारीमा ज्यान कसरी जोगाउने भन्ने त्रासमा बाँचिरहेका वेला आइतबार बसेको नयाँ सरकारको पहिलो बैठक निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कस्तो सेवा–सुविधा दिने भन्ने छलफलमा केन्द्रित भएको छ ।

गुरुङ नेतृत्वको सरकारले नागरिकका पक्षमा काम नगरेको भन्दै चर्को आलोचना गरिरहेको प्रमुख प्रतिपक्षी कांग्रेसले शनिबारदेखि सरकारको कमान सम्हालेको थियो । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदलाई मन्त्रिपरिषद्मा सहभागी गराएका छन् ।

मन्त्रिपरिषद्को पहिलो बैठक नै पूर्वमुख्यमन्त्रीको सेवा–सुविधामा केन्द्रित भएपछि चौतर्फी आलोचना भएको छ । तर, प्रदेश सरकारका प्रवक्तासमेत रहेका विनाविभागीयमन्त्री कुमार खड्का भने पूर्वमुख्यमन्त्रीको मर्यादा र सम्मानमा कमी हुन नदिनु सरकारको कर्तव्य भएको बताउँछन् । 

‘प्रदेशमा पूर्वमुख्यमन्त्री भनेको एउटा सम्मानको पद हो । उहाँको मर्यादा र सम्मानमा कुनै कमी हुन नदिनु प्रदेश सरकारको कर्तव्य हो । उहाँलाई सम्मान दिनुपर्छ भन्ने सरकारको मनसाय हो,’ मन्त्री खड्काले भने, ‘भोलि सडकमा हिँड्दा राज्यले सुरक्षा र सुविधा दिने कि नदिने ? पूर्वमुख्यमन्त्रीको सम्मानसँगै सेवा–सुविधाका सबै कुरालाई सम्बोधन गर्न एउटा नीति ल्याउनुपर्छ । त्यसका लागि आवश्यक ऐन नबनुन्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर जानुपर्छ भन्ने बेटर अन्डरस्ट्यान्डिङ आजको बैठकमा भएको हो ।’

खड्काका अनुसार के–कस्तो सेवा–सुविधा दिने भन्ने विषयमा केही निर्णय भएको छैन । ‘बाहिर प्रचार भएजस्तो यति पैसा दिने भन्ने केही हैन । सुरक्षासँगै सम्मान दिने कुरा भएको हो, अन्य केही निर्णय भएको छैन,’ उनले भने, ‘अहिले सरकार बजेट तथा नीति कार्यक्रमको चटारोमा छ । यसबारे थप छलफल र निर्णय पछि गर्ने हो ।’ निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानलाई अघिल्लो सरकारले नै एउटा पिएसओको व्यवस्था गरेको छ । 

अर्का विनाविभागीयमन्त्री दीपक मनाङेका अनुसार निवर्तमान मुख्यमन्त्रीलाई सेवा–सुविधा दिने एजेन्डा बैठकमा सचिवले ल्याएका हुन् । त्यसमाथि छलफल भए पनि कुनै निर्णय नभएको उनको भनाइ छ । ‘पूर्वमुख्यमन्त्रीलाई सेवा–सुविधा दिनु राम्रो हो । आजको बैठकमा त्यसबारे छलफल मात्र भएको हो, निर्णय केही भएको छैन,’ उनले भने, ‘भोलि कुनै बैठकमा यति र यस्तो सेवा–सुविधा दिने भन्ने एजेन्डा फेरि आउला, त्यसवेला छलफल गरौँला । त्यतिवेला त्यो पास पनि हुन सक्छ, नहुन पनि सक्छ ।’ मन्त्रिपरिषद् बैठकमा धेरै छलफल बजेट र नीति तथा कार्यक्रमका विषयमा भएको मनाङेको भनाइ छ । 

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि सबै दलको सल्लाहबमोजिम मात्रै पूर्वमुख्यमन्त्रीको सेवा–सुविधाबारे निर्णय गरिने मन्त्री मनाङेले बताए । ‘यो वेला हामी कोभिड– १९ नियन्त्रणतर्फ केन्द्रित हुनुपर्ने हो । तर, बजेटसँगै नीति तथा कार्यक्रम ल्याउन हतार भइसकेकाले आज त्यसमा केन्द्रित भयौँ । पूर्वमुख्यमन्त्रीको सेवा–सुविधाबारे जनताले आलोचना गर्ने गरी कुनै निर्णय गर्दैनौँ,’ उनले भने । 

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सोमबार ल्याउने निर्णय गरेको छ । त्यस्तै, मंगलबार बजेट सार्वजनिक गरिनेछ । मुख्यमन्त्री नेपालीले यस विषयमा निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वी सुब्बा गुरुङसँग समेत सल्लाह लिने प्रवक्ता खड्काले बताए । प्रतिपक्षको भावनालाई कदर गरी सरकार अघि बढ्ने उनको भनाइ छ ।
 

सुझावित समाचार