सन् २००१ अप्रिलमा विश्वकप छनोटअन्तर्गत इराकसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । २० वर्षपछि बगदाद पुगेको नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल्ने छ । तीन अन्तर्राष्टिय खेलमा इराकले नेपालको पोस्टमा १६ गोल गरेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोली इतिहासकै फरक परिस्थितिमा आफ्ना केही महत्वपूर्ण खेलका लागि अन्तर्राष्ट्रिय भ्रमणमा निस्किएको छ । कोरोना भाइरस महामारीले देशकै जनजीवन कष्टकर बनाइरहेको समयमा तयारी थालेर अरब पुगेको नेपाली टोलीले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसपछि नेपाली टोली विश्वकप २०२२ र एसियाकप २०२३ को दोस्रो चरणको छनोटको बाँकी खेलका लागि कुवेततर्फ लाग्नेछ ।
विश्वकप र एसियाकप छनोटको महत्वपूर्ण प्रतिस्पर्धाअघि इराकसँगको मैत्रीपूर्ण खेलले आफूलाई मद्दत गर्ने अपेक्षा नेपाली टोलीले गरेको छ । युवा खेलाडीको बाहुल्यत रहेको नेपाली टोलीका लागि यो अनुभव साँच्चिकै फरक हुने पक्का छ । नेपाली टोली २० वर्षपछि फुटबल खेल्न इराक पुगेको हो । नेपालले इराकसँग पछिल्लोपटक विश्वकप छनोटअन्तर्गत सन् २००१ को अप्रिलमा उसकै मैदानमा प्रतिस्पर्धा गरेको थियो ।
सन् २००२ को विश्वकपका लागि भएको पहिलो चरणको एसियाली छनोटअन्तर्गतको उक्त खेलमा नेपाल ९–१ ले पराजित भयो । त्यसको नौ दिनपछि सोही छनोट प्रतियोगिताअन्तर्गत काजकस्तानको अल्माटीमा भएको अर्काे भेटमा नेपाल इराकसँग ४–२ ले पराजित भयो । यो प्रतिस्पर्धाको २० वर्षपछि नेपाली टोली मैत्रीपूर्ण खेलका लागि इराक पुगेको हो । सन् १९८६ को विश्वकप खेलिसकेको र सन् २००७ मा एसियन कप जितेको इराक यो क्षेत्रकै सशक्त टोली हो ।
फिफाको विश्व वरीयतामा समेत १०३ स्थान माथि रहेको इराकविरुद्धको खेल नेपाललाई सहज भने हुनेछैन । त्यही तथ्यलाई बुझेका नेपाली टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुतइरीले आफ्ना खेलाडीका लागि यो राम्रो अनुभव हुने बताएका छन् । ‘हाम्रा युवा खेलाडीलाई केही सिक्ने अवसर हुनेछ । आफ्नो मूल्यांकन गर्ने र भविष्यमा आफूलाई सुधार गर्ने अवसर उनीहरूले पाउनेछन्’, मैत्रीपूर्ण खेलको एक दिनअघि प्रशिक्षक अलमुताइरीले इराकबाट भने ।
प्रशिक्षक अलमुताइरीका लागि नेपाली टोलीसँग यो पहिलो जिम्मेवारी हुनेछ । उनले प्रतियोगिताका लागि ६ नयाँ खेलाडीलाई समेट्दै युवा टोली तयार पारेका छन् । उनले छानेको नेपाली टोलीको औसत उमेर २३ वर्ष छ । अनुभवी किरणकुमार लिम्बूको कप्तानीमा रहेको यो टोलीलाई अनुभवहीन टोली मान्दा हुनेछ ।
नेपालको यो टोलीलाई इराकजस्तो बलियो टोलीसँगको प्रतिस्पर्धा पक्कै पनि मुस्किल हुनेछ । यसअघि भएका खेलको नतिजाका आधारमा पनि नेपाललाई इराकसँगको प्रतिस्पर्धा कठिन हुने देखिएको छ । नेपालले यसअघि इराकसँग सन् १९८२ को एसियाकपमा समेत प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो । विश्वकप छनोटअन्तर्गत भएको दुईसहित इराकसँग अहिलेसम्म तीनपटक प्रतिस्पर्धा गर्दा नेपाल सबै खेलमा पराजित छ ।
यी प्रतिस्पर्धामा नेपालले मात्रै पाँच गोल फर्काउन सकेको छ भने इराकसँग १६ गोल व्यहोरेको छ । त्यसमाथि नेपाली टोलीका लागि इराकको गर्मी अझ मुस्किल हुन सक्छ । यसका बाबजुद नेपाली टोली प्रतिस्पर्धाका लागि तयार रहेको नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले बताएका छन् । ‘हाम्रा लागि इराकसँग प्रतिस्पर्धा गर्नु महत्वपूर्ण अवसर हो । त्यसका लागि हामी उत्साहित छौँ’, कप्तान लिम्बू भन्छन्, ‘प्रतियोगिताका लागि हामीले राम्रो तयारी गरेका छौँ । यहाँ (इराक) आएर पनि प्रशिक्षण राम्रो भएको छ । यो प्रतिस्पर्धाले हामीलाई आगामी खेलका लागि पनि सहयोग गर्ने अपेक्षा गरेका छौँ ।’
नेपाली टोली मैत्रीपूर्ण खेलका लागि मंगलबार बेलुका कतार एयरलाइन्सको विमानमार्फत इराक पुगेको हो । इराक पुगेर पनि नेपाली टोलीले बिहीबार र शुक्रबार प्रशिक्षण गरेको छ ।
... ...
अब्दुल्लाह अल्मुतइरी, प्रशिक्षक नेपाली राष्ट्रिय टोली
यो खेल कुनै नतिजाका लागि भन्दा पनि युवा खेलाडीहरूले भरिएको हाम्रो टोलीका लागि केही सिक्ने राम्रो अवसर हुनेछ । खेलाडीहरूले यो खेलबाट केही सिक्नेछन् । यो आफूले आफैँलाई मूल्यांकन गर्ने र भविष्यमा सुधार गर्ने अवसर पनि हो ।
किरणकुमार लिम्बू, कप्तान नेपाली राष्ट्रिय टोली
हाम्रा लागि यो ठूलो अवसर हो । हामी बग्दाद आइपुगेर पनि राम्रो प्रशिक्षण गरेका छौँ । यो खेलले हाम्रा लागि ठूलो अर्थ राख्नेछ । यसपछि विश्वकप र एसियाकपअन्तर्गत दोस्रो चरणको छनोट खेल खेल्दै छौँ । त्यसका लागि पनि हामीलाई यो खेलले मद्दत गर्नेछ । शनिबारको खेलका लागि हामी तयार छौँ ।
रोहित चन्द, सिनियर खेलाडी नेपाली राष्ट्रिय टोली
हामी यो प्रतिस्पर्धालाई लिएर खुसी छौँ । इराक बलियो टोली हो । मैले इराकसँग उमेर समूहमा प्रतिस्पर्धा गरेको छु । सिनियर टोलीसँग भने पहिलोपटक खेल्दै छु । मलाई विश्वास छ कि हामी राम्रो खेल खेल्नेछौँ । हाम्रा लागि मौसम चुनौतीपूर्ण हुन सक्छ । यद्यपि, त्यसका लागि हामी तयार छौँ ।
... ...
खेल
नेपालविरुद्ध इराक
समय : १०ः१५ बजे (बस्रा रंगशाला, इराक)
फिफा वरीयता
इराकः ६८
नेपालः १७१
हेड टु हेड
- नेपाल ०–३ इराक (एसियन गेम्स १९८२)
- नेपाल १–९ इराक (विश्वकप २००२ को एसियाली छनोट)
- नेपाल २–४ इराक (विश्वकप २००२ को एसियाली छनोट)