काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ । पोखराले तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेल्नुअघि सदिरालाई भित्र्याउँदै टिम बलियो बनाएको छ ।
३१ वर्षीय दायाँहाते ब्याटर सदिरा समराविक्रमाको आगमनले पोखराले ब्याटिङ र विकेटकिपङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ। सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेको तेस्रो श्रीलंकन र सम्रगमा छैटौँ विदेशी खेलाडी हुन् ।
पोखराले यसअघि नै दोस्रो सिजन पनि खेलेका श्रीलंकन ब्याटिङ अलराउन्डर धनन्य लक्षणलाई निरन्तरता दिँदा पेस बलिङ अलराउन्डर चमिका करुणारत्नेलाई तेस्रो सिजन अनुबन्ध गरिसकेको छ।
यस्तै, पोखराले तेस्रो सिजनका लागि बंगलादेशबाट पनि तीन अलराउन्डर नै अनुबन्ध गरिसकेको छ । जसमा विश्वचर्चित अलराउन्डर शाकिब अल हसन सबैभन्दा ठुला खेलाडीको रूपमा अनुबन्ध भएका छन् भने पेस बलिङ अलराउन्डर मोहम्म सैफुद्दिन र स्पिन बलिङ अलराउन्डर महेदी हसनपनि अनुबन्ध भएका छन् ।
विकेटकिपर ब्याटर सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फर्म्याटमा खेलिसकेका छन् । उनले श्रीलंकाका लागि नाै टेस्ट, ५५ ओडिआई र १९ टी २०– आई खेल खेलिसकेका छन् ।
यस्तै, लंका प्रिमियर लिगमा उनले चार फरक टिमबाट खेलिसकेका छन् । उनी सन् २०२४ मा भएको टी–२० विश्वपकमा श्रीलंकाको टिममा समावेश थिए । क्रिकेटको छोटो फर्म्याटमा उनी मिडल अर्डर ब्याटरको रूपमा खेल्ने गर्छन्। सदिरा मंगलबार नै नेपाल आइपुगिसकेका छन् ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले बुधबार सुदूरपश्चिम रोएल्ससँग एनपिएल तेस्रो सिजनको पहिलो खेल खेल्दै छ । अनुभवी खेलाडीलाई निरन्तरता दिँदै स्थानीय युवा प्रतिभालाई पनि समेटेको पोखरा एभेन्जर्सले उत्कृष्ट विदेशी खेलाडीहरू अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ र पहिलोपटक एनपिएलको उपाधि जित्ने लक्ष्य राखेको छ ।
पोखराले यसपटक मुख्य प्रशिक्षकमा पनि परिवर्तन गर्दै श्रीलंकन पूर्वक्रिकेटर अजन्था मेन्डिसलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ भने विदेशी खेलाडीहरूमा पनि यसपटक नयाँ खेलाडीहरू आएका छन् । यस्तै, भारतीय पूर्वक्रिकेटर तथा टी–२० विश्वकप विजेता इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ ।