साबिक दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सले बुधबार आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सको सामना गर्दै छ । त्रिवि क्रिकेट मैदानमा पोखराको पहिलो खेल हुनेछ । सुदूरपश्चिमले चालू एनपिएलमा खराब सुरुवात गरेको छ । उद्घाटन खेलमा सुदूरपश्चिमले साबिक विजेता लुम्बिनीसँग हारको सामना गरेको थियो । अघिल्लो दुई संस्करणमा सुदूरपश्चिमले उत्कृष्ट सुरुवात गरेको थियो । यसपटक ब्याटिङमा फितलो प्रदर्शन गरेका कारण पहिलो खेलमा गुमायो ।
दुई संस्करणको नतिजा हेर्दा सुदूरपश्चिम हाबी देखिन्छ । सुदूरपश्चिमले पोखरालाई पहिलो संस्करणमा ५ र दोस्रोमा १८ रनले पराजित गरेको थियो । ब्याटिङ र बलिङमा यी दुई टोलीबिच त्यति अन्तर छैन । एनपिएलको प्ले अफमा पुग्न नसकेको एक मात्र टोली पोखरा मात्रै हो । यसपटक पोखराको लक्ष्य कम्तीमा प्ले अफसम्म पुग्नु हो । तर, यसका लागि पोखराले पहिलो खेलदेखि नै उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।
दुईपटकको प्रयासमा पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम अघिल्ला दुई संस्करणको जितको मुभमेन्टम फर्काउन चाहन्छ । यसमा कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनको आवश्यकता छ । पोखराले ओपनिङमा कप्तान कुशल भुर्तेलबाट आशा गरेको छ । कुशल क्रिजमा धेरै समय रहँदा खेलको अवस्था नै फरक हुनेछ । तर, सुदूरपश्चिम भने भुर्तेललाई खुला रूपमा स्ट्रोक लगाउन दिने पक्षमा छैन ।
सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन म्याकमुलन, न्युजिल्यान्डका स्कट कुगेलेइन र वेस्ट इन्डिजका सेर्फेन रदरफोर्ड मुख्य ब्याट्सम्यानका रूपमा छन् । पोखरामा यसपटक बंगलादेशी अनुभवी अलराउन्डर सकिब अल हसन छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव हासिल गरेका सकिबको उपस्थितिले टोलीको ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्ने अपेक्षा छ । बंगलादेशका मोहम्मद सैफुद्दिन र श्रीलंकाका धनञ्जय लक्षण पनि टोलीका विदेशी खेलाडी हुन् ।
प्लेयर्स टु वाच
दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)
साबिक दुईपटकको उपविजेता सुदूरपश्चिमले बुधबार पोखरा एभेन्जर्सको सामना गर्दै छ । यस्तोमा सुदूरपश्चिमले विश्वास गरेको खेलाडी नै कप्तान दीपेन्द्र हुन् । तेस्रो संस्करणको एनपिएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सविरुद्ध फितलो ब्याटिङ प्रदर्शन हुँदा क्रिजमा दीपेन्द्रले मध्यक्रम टिकाएर राखेका थिए । तर, अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा सुदूरपश्चिम एनपिएल इतिहासमा तेस्रो कम योगफलमा समेटियो । पहिलो खेलमा उनले महत्वपूर्ण २७ रन बनाएका थिए ।
लुम्बिनीविरुद्ध उनले ३१ रन खर्चेर एक विकेट लिए । एकदिवसीय फर्म्याटमा उनी फर्ममै छन् । दुई साताअघि ओमानमा भएको आइसिसी विश्वकप लिग २ मा उनले ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरेका थिए । फर्ममा रहँदा उनलाई ब्याटिङ र फिल्डिङमा रोक्न सकिँदैन ।
कुशल भुर्तेल (पोखरा)
पोखराको यो पहिलो खेल हो । सुदूरपश्चिमविरुद्ध पोखराले कप्तान कुशलबाट राम्रो प्रदर्शनको आशा राखेको छ । क्रिकेटको छोटो फर्म्याटमा उनको प्रदर्शन दमदार छ । पछिल्लो समय कुशलको प्रदर्शनमा उतारचढाव देखिन्छ । फर्ममा नरहँदा नै उनी नेपालको ‘ए’ टोलीमा घटुवा भएका थिए । तर, त्रिवि क्रिकेट मैदानमा कुशलले राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । सुदूरपश्चिमविरुद्ध ओपनिङमा पोखरालाई उत्कृष्ट सुरुवात दिलाउने जिम्मेवारी उनकै काँधमा छ ।
पछिल्लो समय उनले दुई अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जापानमा भएको २०औँ एसियाडमा उनले जापानविरुद्ध ४ रन बनाएका थिए । त्रिवि मैदानको पिचबारे राम्रो जानकार भएका कुशल आफूलाई आक्रामक प्रस्तुत गर्न चाहन्छन् ।
