- तेस्रो एनपिएलमा विश्लेषकका रूपमा आएका सोएब अख्तरले १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेर विश्वकीर्तिमान बनाएका छन्
फास्ट बलरका लागि पाकिस्तानकी बलर सोएब अख्तर आदर्श खेलाडी हुन् । पिचमा अख्तरको जस्तै फास्ट बलिङ गर्ने सबै बलरको चाहना हुन्छ । तर, उनको जति फास्ट बलिङ कसैले गर्न सकेका छैनन् । उनीनजिक अस्ट्रेलियाका दुई बलर पुगेका छन् । अस्ट्रेलियाका बलरद्वय ब्रेट ली र साउन टैटले कुनै समय अख्तरमाथि दबाब बनाएका थिए । तर, ती दुवै पछि परे । क्रिकेटमा उनको नाममा अहिलेसम्म नतोडिएको एउट रेकर्ड छ ।
सन् २००३ को दक्षिण अफ्रिकाको केपटाउनमा भएको विश्वकपमा उनले इंग्ल्यान्डविरुद्ध १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेर विश्वकीर्तिमान बनाएका थिए । यो कीर्तिमान कसैले तोड्न सकेका छैनन् । ब्रेट ली र टैट थोरै अन्तरले पछि छन् । सन् २००५ मा लीले न्युजिल्यान्डविरुद्ध १६१.१ किलोमिटर प्रतिघण्टाको स्पिडमा बलिङ गरेका थिए । टैटले पनि सन् २०१० मा इंग्ल्यान्डविरुद्ध १६१.१ किलोमिटर प्रतिघण्टाको स्पिडमा बलिङ गरेका थिए ।
रावलपिन्डी एक्सप्रेस नामले प्रसिद्ध अख्तर अहिले नेपाल प्रिमियर लिग (एनपिएल)मा विश्लेषक रूपमा काठमाडौंमा छन् । एनपिएल सुरु हुनुभन्दा एक दिनअघि उनी काठमाडौं आएका हुन् । एनपिएलअन्तर्गत साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिचको उद्घाटन खेलको समीक्षा अख्तरले गरेका थिए । एनपिएलअन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबिचको खेलका दौरान अख्तर त्रिवि क्रिकेट मैदानमा एक्कासि पुगे ।
क्यानका पदाधिकारी र सुरक्षाकर्मीबिच उनले त्रवि रंगशालाको एक फन्को मारेका थिए । फास्ट बलर र कमेन्टेटरका रूपमा टेलिभिजनको पर्दामा देखिने अख्तर मैदानमा देखिँदा जनकपुर र कर्णालीका समर्थक दंग परे । पहिलो इनिङ्सपछि मैदानबाट दर्शकलाई अभिवादन गर्दै उनी बाहिरिए । अख्तरले निकै छोटो समयमै एनपिएलले टी–२० फ्रेन्चाइजमा ब्रान्ड बनाएको बताएका थिए । ‘एनपिएलले तेस्रो संस्करणमै आइसिसीको मान्यता पाउनुका साथै एउटा फरक ब्रान्ड बनाएको छ,’ उनले भनेका थिए, ‘यहाँको क्रिकेटमयी वातावरणदेखि दंग छु ।’ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुँदा पनि अख्तरले नेपाली खेलाडीको खुलेर प्रशंसा गर्थे ।
उनी भन्थे, ‘एसोसिएट राष्ट्रमा नेपालमा जस्तो समर्थक र क्रेज अन्य देशमा पाउन सकिँदैन ।’ तेस्रो एनपिएलमा पाकिस्तानी खेलाडी पनि सहभागी छन् । तर, पाकिस्तान क्रिकेट बोर्डले एनओसी लेटर नदिँदा अनुबन्धित पाकिस्तानी खेलाडी अन्योलमा छन् ।
१४ वर्ष अन्तर्राष्ट्रिय करिअर
अख्तरले अन्तर्राष्ट्रिय करिअरमा धेरै समय बिताएनन् । चोटका कारण टोलीमा भित्रिने र बाहिरिने चलिरहन्थ्यो । उत्कृष्ट फर्ममा रहँदा अख्तरको समयमा नाम चलेका ब्याट्सम्यान पनि बल सामना गर्न डराउँथे । विश्लेषकका अनुसार अख्तरको जति रनअप कसैले पनि लिएका छैनन् । पाकिस्तानबाट उनले तीनवटै फर्म्याटमा प्रतिस्पर्धा गरे । सन् १९९७ मा उनले वेस्ट इन्डिजविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । सन् २००७ मा उनले भारतविरुद्ध बेंग्लोरमा अन्तिमपटक टेस्ट खेलेका थिए । ४६ टेस्टमा उनले १७८ विकेट लिए । यसक्रममा उनले दुईपटक दश, १२ पटक पाँच तथा चारपटक चार विकेटको प्रदर्शन गरे ।
यसैगरी १६३ एकदिवसीय खेलमा उनले २४७ विकेट लिएका छन् । यस विधामा उनले चार खेलमा पाँच विकेट र ६ खेलमा चार विकेट हात पारेका थिए । यसैगरी १५ टी–२० आईमा १९ विकेट हात पारेका छन् । पाकिस्तानबाट उनले सन् १९९७ मा ओपनिङ फास्ट बलरका रूपमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । त्यसको तीन महिनापछि एकदिवसीयमा डेब्युको अवसर पाएका थिए । सन्न्यासपछि उनी आफ्नै युट्युब च्यानलमा क्रिकेटबारे समीक्षा गर्दै आइरहेका छन् ।