जनकपुरविरुद्धको खेलमा कर्णालीका बलर हाबी

बुधबार, ११ कार्तिक, २०८३
प्रिन्ट संस्करण
जनकपुरविरुद्धको खेलमा कर्णालीका बलर हाबी

जनकपुरविरुद्धको प्रतिस्पर्धामा विकेट लिएपछि खुसी मनाउँदै कर्णालीका युनिस ठकुरी । तस्बिर : अमूल थापा/नयाँ पत्रिका

  • १३२ रन रक्षा गर्ने क्रममा कर्णालीका बलर नन्दन, हुसेन र युनिसले समग्रमा आठ विकेट लिए

तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा स्पिनर र फास्ट बलरको उत्कृष्ट प्रदर्शनको सहयोगमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ । पहिलो संस्करणको विजेता जनकपुरले यसपटक पनि उत्कृष्ट सुरुवात गर्न सकेन । दोस्रो संस्करणमा केवल दुई जित निकालेको कर्णालीले तेस्रो संस्करणको आफ्नो पहिलो खेलमै दमदार प्रदर्शन गरेको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १३२ रनको मध्यम योगफल खडा गरेको थियो । सहज देखिएको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो ।

कर्णालीको जितमा तीन बलर नायक देखिए । राष्ट्रिय टोलीका अनुभवी बलर नन्दन यादवले २.३ ओभरमा १३ रन खर्चेर दुई विकेट लिए । उनले जनकपुरका अन्तिम ब्याट्सम्यान ललित राजवंशीलाई बोल्ड गर्दै कर्णालीलाई जित दिलाए । यसैगरी पाकिस्तानी हुसेनले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । ट्यालेन्ट हन्टबाट आएका युनिस ठकुरीले चार ओभरमा एक मेडन राखी तीन विकेट लिन २२ रन खर्चेका थिए । समग्रमा यी तीन बलरले आठ विकेट आफ्नो नाममा लेखाए ।

चलेनन् जनकपुरका विदेशी खेलाडी
दोस्रोपटक उपाधि जित्ने लक्ष्यका साथ जनकपुरले राम्रा विदेशी क्रिकेटर भित्र्याएको छ । प्लेइनिङ ११ मा जनकपुरले इंग्ल्यान्डका मोइन अली, श्रीलंकाका कुशल परेरा, न्युजिल्यान्डका जिमी निसिम तथा अमेरिकाका हर्मित सिंहलाई समावेश गरेको थियो । पछिल्लो सिजन सुदूरपश्चिमबाट प्रतिस्पर्धा गरेका हर्मित यसपटक जनकपुर पुगेका हुन् । जनकपुरका कप्तानसमेत रहेका हर्मितले अनुभवी खेलाडीले गतिलो साझेदारी गर्न नसक्दा र क्याच मिस हुँदा पराजित भएको बताएका छन् । ‘फिल्डिङका क्रममा धेरै क्याच मिस गर्यौँ । ब्याटिङमा भरपर्दा खेलाडीले साझेदारी गरेनन्,’ खेलपछि उनले भने ।

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरिसकेका अलराउन्डर मोइन अलीले २२ बलमा समान एक चौका र छक्का प्रहार गरी १९ रन बनाए । जिमीले १४ बल खेलेर १५ रन जोडे । श्रीलंकाका अनुभवी ब्याट्सम्यान कुशलले चार बलमा ६ रन बनाए । जिमी र कुशलले समान एक चौका प्रहार गरेका थिए । कप्तान हर्मितले १४ बल खेलेर दुई चौकाको सहयोगमा १९ रन जोडे । जनकपुरको ब्याटिङमा अभिषेक तिवारीले सर्वाधिक २० रन बनाउन १७ बलमा दुई चौका प्रहार गरेका थिए । सो इनिङ्समा ओपनर मयंक यादवले ११ बलमा दुई छक्काको सहयोगमा १४ र पूर्वकप्तान अनिल शाहले १७ बलमा ११ रन बनाएका थिए । जनकपुरले आफ्नो सुरुवाती पाँच विकेट ९.५ ओभरमा ५७ रनको अवस्थामा गुमाएको थियो ।

बंगलादेशी अरिफुल चम्किए
कर्णालीको ब्याटिङमा दोस्रो ओपनर अरिफुल इस्लाम चम्किए । बंगलादेशको यू–१९ बाट प्रतिनिधित्व गर्ने अरिफुलले २९ बलमा चार छक्काको सहयोगमा सर्वाधिक ४३ रन बनाए । उनी इनिङ्सको १२.१ ओभरमा आउट भएका थिए । उनी आउट हुँदा कर्णाली ७९–४ को स्थितिमा थियो । अरिफुलले लगातार चार विकेटका लागि साझेदारी गर्दै कर्णालीलाई मध्यम स्कोरसम्म पुर्याए । त्यसपछि घरेलु खेलाडी पवन सर्राफले ३७ बलमा तीन छक्का प्रहार गरी ३७ रन बनाए । गुल्सन झाले नौ बलमा समान एक छक्का र चौका प्रहार गरी १२ रन जोडे । जनकपुरको बलिङमा कप्तान हर्मितले चार ओभरमा एक मेडन राखी २२ रन खर्चेर तीन विकेट लिए ।

चितवनको रोमाञ्चक जित

nullचितवन राइनोजले मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हरायो । पहिलो ब्याटिङ गरेको चितवनले २० ओभरमा सात विकेटको क्षतिमा १५७ रन बनायो । प्रत्युत्तरमा चितवनका कमलसिंह ऐरीले चार विकेट लिएपछि विराटनगर १९.३ ओभरमा १४९ रनमै सीमित भयो ।

विराटनगरलाई जितका लागि अन्तिम १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औँ ओभरमा कमलसिंहले लगातार दुई विकेट लिएपछि विराटनगर धरापमा पर्यो । उनले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिएका हुन् । उनले रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीलाई पेभेलियन पठाए । लक्ष्य पछ्याएको विराटनगरको ब्याटिङ इनिङ्सको कुनै समय आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै सहज स्थितिमा राखेका थिए । वेस्ट इन्डिजका पूर्वअलराउन्डर रसेलले १७ बलमा एक चौका र ४ छक्कासहित ३३ रन बनाए । यसैगरी श्रीलंकाली चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए ।

श्रीलंकाका पूर्व अनुभवी खेलाडी एन्जेलो म्याथ्युजले १४ रन बनाए । विराटनगरका ओपनर इमरान शेखले सर्वाधिक ३९ रन बनाए । उनले पहिलो विकेटका लागि लोकेश बमसँग ४० रनको साझेदारी गरेका थिए । लोकेशले १४ बलमा २६ रन बनाए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनका लागि ओपनर डेभिड मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिएका थिए ।

चालू एनपिएलमा अर्धशतक बनाउने उनी पहिलो ब्याट्सम्यान बने । उनले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए । देव खनालले १५ बलमा १२ रन बनाएका थिए । कप्तान रवि बोपारा र डान मोस्लीले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे । रवि ३२ र डान २९ रनमा अविजित रहे । 

खेलपछिका भनाइ

ब्याट्सम्यान हतारिए : सन्दीप लामिछाने, कप्तान, विराटनगर
१६औँ ओभरपछि खराब सट खेल्नु र लामो समयसम्म क्रिजमा रहेका ब्याट्सम्यानलाई ननस्ट्राइकमा नै राख्नु नै हारको कारण देखियो । अन्तिम चार ओभरमा पाएको अवसर सदुपयोग गर्न नसक्नु र हतारिँदा हार भयो । यसबाट शिक्षा लियौँ । आगामी खेलमा यस्तो गल्ती हुनेछैन । टी–२० मा कुनै पनि टोली कमजोर हुँदैन । चितवनका बलरले राम्रो बलिङ गरे ।

पहिलो जित महत्वपूर्ण हुन्छ : सोमपाल कामी, कप्तान, कर्णाली
एनपिएलमा पहिलो जित सधैँ महत्वपूर्ण हुने गर्छ । गत सिजनमा दुई जित मात्र निकाल्यौँ । यसपटक उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ आएका छौँ । जनकपुरविरुद्धको जित एक खेलाडीले मात्र नभएर टिमवर्कको भावनाले प्राप्त भएको हो । विशेषतः युनिसले उत्कृष्ट प्रदर्शन गरे । प्रतिस्पर्धामा क्याच महत्वपूर्ण पक्ष हो । यसमा त्यति धेरै मिस गरेनौँ । आगामी खेलमा सबै खेलाडीले यस्तै गरी शतप्रतिशत दिने प्रयास गर्नेछन् ।

धेरै क्याच मिस भयो : हर्मित सिंह, कप्तान, जनकपुर
लक्ष्य पछ्याउँदा सुरुदेखि नै संघर्ष गर्नुपरेको थियो । कर्णालीविरुद्धको प्रतिस्पर्धामा धेरै क्याच मिस गर्यौँ । सहज क्याच लिन नसक्दा नै पराजित भयौँ । अझ पावर प्लेमै महत्वपूर्ण दुई विकेट गुमायौँ । निरन्तर विकेट पतन हुनाले खेल नियन्त्रणभन्दा बाहिर गयो । जनकपुरको ब्याटिङ राम्रो छ, तर त्यसअनुसार भएन । 

सुझावित समाचार