कारोबार रकम ८४ प्रतिशतले बढ्यो, दैनिक औसत कारोबार १० अर्ब
गत साता नेप्से परिसूचकले पुनः २ हजार ८ सयको बिन्दु भेटेर ओर्लिएको छ । साताभरमा नेप्से परिसूचक करिब १ सय ३ अंकले बढेको छ भने कारोबार रकम करिब ८४ प्रतिशतले बढेको हो । अघिल्लो साता २८ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा गत साता भने ५२ अर्ब रुपैयाँको सेयर किनबेच भएको हो । दैनिक औसत कारोबार रकम पनि १० अर्ब रुपैयाँ पुगेको छ ।
गत साता उत्पादन तथा प्रशोधनबाहेक सबै समूहगत परिसूचकमा सुधार भएको छ । यद्यपि, वित्त कम्पनी र विकास बैंक समूहमा उच्च सुधार देखिएको हो । यी समूहमा १४ दशमलव ८८ प्रतिशत र ९ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल फाइनान्स, गोर्खाज, प्रोग्रेसिभ, मल्टिपर्पोज फाइनान्सलगायतको मूल्य बढेको हो । मितेरी, एक्सेल, लुम्बिनी विकास बैंकलगायतको मूल्य पनि बढेको छ ।सबैभन्दा धेरै सेयर कारोबार संख्या र कारोबार रकमका आधारमा गत साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा छ । कम्पनीको १६ हजारभन्दा धेरैपटकको कारोबारमा करिब ३ अर्ब रुपैयाँको खरिददारी भयो । नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै परिमाणमा कारोबार भएको छ । ४९ लाख १ हजार इकाइहरू किनबेच भएको हो । समता माइक्रो, रुरु हाइड्रोलगायतको मूल्य उच्चदरमा बढेको हो । यी कम्पनीको ४० देखि ६० प्रतिशत हाराहारीले मूल्य बढेको हो ।
बजारमा आधारभूत पक्षमा खासै परिवर्तन भएको छैन । बैंकहरूमा अधिक तरलता कायमै रहेको छ । यद्यपि, राष्ट्र बैंकले हालै सेयर धितो कर्जा दिँदा बैंकहरूले १ सय ८० दिनको औसत कारोबारका आधारमा मूल्यांकन गर्न भनेको छ । यसअघि १ सय २० दिनको औसत लिइने गरेको थियो । बढेको बजारमा १ सय २० दिनको औसत लिँदाभन्दा १ सय ८० दिनको लिँदा कम मूल्यांकन हुने सम्भावना रहन्छ । यसका आधारमा मूल्यको ७० प्रतिशत नै कर्जा पाइने व्यवस्था यथावत् छ ।
मूलतः अहिले अधिकांशले लगानी क्षेत्र अभावमा सेयर बजारमै कारोबार बढाइरहेका छन् । यसले बजारमा सट्टेबाजी निकै मौलाएको छ । कम अनुभवी नयाँ लगानीकर्ताले भने यस्तो समयमा सजक हुनु राम्रो हुनेछ । गत साता बुधबार मात्रै घटेको नेप्सेले अन्तिम दुई दिनमा भने रातो मैनबत्ती बनाएको छ । यसले सो दिनहरूमा बजार बियरिस नै रहेको संकेत गर्छ । यसले स्पष्ट संकेत गरेको छैन । यद्यपि, देखिएको बुल प्रवृत्ति बलियो भने भइनसकेको स्पष्ट पार्छ ।
नेप्सेको ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि बढ्ने प्रयास कायमै देखिएको छ । यसले हालै गोल्डेन क्रस ओभर भएको संकेत गर्छ । यसले बजार बुलिस प्रवृत्तिमै केही समय जाने सम्भावना देखिएको छ ।
१४ दिने आरएसआई सूचकले भने बजार अधिक खरिदको अवस्थामा पुगेको देखाउँछ । यो सूचक बुधबार करिब ७९ स्केलमा रहेकोमा घटेर स्केल ७५ मा आएको छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । पिभट विश्लेषणले भने सेयर बजारमा आगामी एक साता २ हजार ८ सय ४१ मा पहिलो लक्ष्य रहेको र सो बिन्दुमा प्रतिरोध पाएर घटेमा २ हजार ७ सय १३ मा पहिलो टेवा पाएर फर्कन सक्ने संकेत गर्छ ।