राष्ट्रिय सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीहरूको साझा उम्मेदवारका रूपमा रहेका डा. खिमलाल देवकोटाले जनताको बृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न राजनीतिक दलहरूमा इमानदारिताको खाँचो रहेको बताएका छन् ।
उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताए । उनले प्रदेशको भूमिकालाई अझै जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
यस्तै, अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका नेता कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशनबमोजिम उम्मेदवारी दर्ता गरेको बताए । देशको संविधान, ऐन तथा कानुनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने उनले दृढता व्यक्त गरे ।