सोलुमा स्थापना गरिएको ३१ होल्डिङ सेन्टरमा एकै दिन १७ सयलाई होल्ड गरियो

शनिबार, १८ बैशाख, २०७८
डिजिटल संस्करण

सोलुखुम्बु जिल्लाका ३१ स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएको छ । कोरोना संक्रमणदर दिनप्रतिदिन बढिरहेका वेला जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाका ३१ स्थानमा होल्डिङ सेन्टर स्थापना गरेको हो । होल्डिङ सेन्टरमा मास्क नलगाई हिँड्नेलाई ५ देखि ३० मिनेटसम्म होल्ड गरी उभ्याउने गरिएको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । 

जिल्लामा शुक्रबार एकैदिनमा मास्क नलगाई हिँड्ने १७ सयलाई होल्डिङ सेन्टरमा उभ्याइएको छ । जिल्ला प्रहरी कार्यालयले मास्क नलगाउनेलाई कारबाही गर्नुका साथै विभिन्न स्थानमा मास्कसमेत वितरण गरिरहेको छ ।

बिहीबार दुई सय ८२ जनालाई र शुक्रबार १४ सय १२ थान मास्क वितरण गरेको प्रहरी निरीक्षक ढकालको भनाइ छ । विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिरहेको अवस्थामा जिल्ला भित्रने नागरिकको संख्यालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सवारी चेकिङलाई तीव्रता दिएको छ ।

सदरमुकाम सल्लेरीबाट बाहिरिने तथा भित्रिने प्रमुख नाका जिरो प्वाइन्टमा बिहान र साँझ गरी दुईपटक चेकिङ गरिरहेको सशस्त्र प्रहरीको टोलीले यातायात व्यवसायीले प्रशासनको आदेश पालना गरे–नगरेको चेक गर्नेछ भने यात्रुहरूलाई मास्क अनिवार्य प्रयोग गर्न कडाइ गर्नेछ ।

सुझावित समाचार