९३ रोपनी क्षेत्रफल ओगटेको डाँडो सम्याउन जमिनको सतहभन्दा २५ फिटसम्म गहिरो खन्दा भक्तपुरको चाँगुनारायण मन्दिरसहित बुढाथोकी गाउँ भासिने जोखिम
भक्तपुरको चाँगुनारायण नगरपालिकामा अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने नाममा मानव बस्ती र विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरसमेत जोखिममा पर्ने गरी बालुवा उत्खनन भइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदानस्थल निर्माणका लागि नगरपालिकाले ९३ रोपनी क्षेत्रफल ओगटेको डाँडो सम्याउन आयठेक्कामा आगन्जा कन्स्ट्रक्सन कम्पनी प्रालिलाई जिम्मा दिइएको थियो । निर्माण कम्पनीले सम्झौताविपरीत बालुवा उत्खनन गर्दा चाँगुनारायण मन्दिरसहित बुढाथोकी गाउँको जमिन भासिने जोखिम बढेको छ ।
चाँगुनारायण नगरपालिकाले मैदानस्थल निर्माणका लागि १७ असार ०७७ मा आगन्जा कन्स्ट्रक्सन कम्पनीलाई वडा नम्बर ५ र ७ मा पर्ने कित्ता नम्बर ३१६ र ३१७ जग्गा दिएको थियो । दुई वर्षका लागि दिइएको आयठेक्कामार्फत गरिएको सम्झौतामा आगन्जाले निर्माणस्थलबाट संकलन भएको निर्माण सामग्री बेचबिखन गरी आठ करोड ६३ लाख ५५ हजार ६५ रुपैयाँ मुआब्जा करबाहेक किस्तामा बुझाउने गरी ठेक्का सम्झौता भएको हो । तर, ठेकेदार कम्पनीले भने सम्झौताविपरीत जमिनको लेभलभन्दा तलबाट बालुवा उत्खनन गर्दा स्थानीय बस्ती, खानेपानीका मुहान र चाँगुनारायणको मन्दिर रहेको स्थानसमेतमा असर पर्ने भन्दै स्थानीयले विरोध गरेका छन् ।
नगरपालिकासँग गरिएको सम्झौतामा खेतको लेभलसम्म मात्रै बालुवा उत्खनन गर्न पाउने उल्लेख छ । तर, ठेकदार कम्पनीले भने जमिनको सतहमुनि २० देखि २५ फिट गहिरो खनी बालुवा निकालेको स्थानीयले गुनासो गरेका छन् । जमिनको सतहमुनि उत्खनन गर्दा बुढाथोकी गाउँ पहिरोको जोखिममा पर्ने देखिन्छ, जसको सीधा असर डाँडामाथि रहेको चाँगुनारायण मन्दिरमा पर्न जान्छ ।
चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपाने भन्छन्–
सम्झौताभन्दा बाहेक भएका गतिविधि गैरकानुनी हुन् । गैरइजाजत प्राप्त हुन् । स्थानीयबाट गुनासो आउनेबित्तिकै हामीले तत्काल अनुगमन गरेर पुर्न लगाएका छौ । एक महिना अगाडि जिल्ला प्रशासन कार्यालयमार्फत पत्र आएपछि हामीले सम्झौताअनुसार काम गर्न निर्देशन दिएका छौं । अझै पनि ठेकेदार कम्पनीले सम्झौताविपरीत काम गरेको पाइएमा तत्काल काम रोक्छौं ।
आवश्यकताभन्दा बढी बालुवा निकाल्न सर्वसाधारण प्रवेशमा रोक
ठेकेदार कम्पनीले माटो निकालेर डाँडा बनाएर निर्माणस्थलमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ । सामान ढुवानीका लागि मात्रै बाटो छाडेर उत्खनन गरिरहेको कम्पनीले आवश्यकताभन्दा बढी बालुवा निकालिरहेकाले अन्य व्यक्तिलाई प्रवेश गर्न नदिएको स्थानीयको गुनासो छ । स्थानीय हरिकृष्ण बुढाथोकी भन्छन्, ‘जमिनमुनि पानीबाट बालुवा निकालेर माटोले पुरिएको छ, भविष्यमा गएर कुनै भौतिक संरचना बनाउनुपर्ने भएमा बीसौँ वर्ष कुनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय खेल मैदान बनाउने भनेर बोर्ड टाँसेका छन्, पानीमुनिबाट बालुवा निकालेर भौतिक संरचनाको जग कसरी बलियो हुन्छ ?’
ठेकेदार कम्पनीले आफ्नो स्वार्थका लागि जमिनको सहतभन्दा निकै गहिराइबाट उत्खनन गर्दा हुने भूक्षयले भौतिक संरचना बनाउन नपाइने, पानीका मुहान सुक्ने र भूकम्पको जोखिम बढ्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । ‘नगरपालिकासँग भएको सम्झौतामा पनि वरपर रहेको जग्गाको सतहभन्दा मुनि नै उल्लेख गरिएको छ । कम्पनीले त्यसको पनि मुनिबाट उत्खनन गर्दा जमिन भासिने सम्भावना झन् बढेको छ । हामीलाई समेत निर्माणस्थलमा प्रवेश गर्न दिइएको छैन । ठेकेदार कम्पनीले आफूखुसी गरिरहेकाले लुकाएर काम गरिरहेको छ,’ एक स्थानीयले भने ।
डाँडा काटेर क्रिकेट रंगशालाका लागि मैदान बनाउँदा वरिपरि पर्ने जग्गासमेत दुई वर्षका लागि मुआब्जामा लिएको छ । वरिपरिको जग्गामा माटो थुपारेर राखेको र निर्माणस्थलमा जमिनमुनिबाट उत्खनन गर्दा मुआब्जा दिएर प्रयोगमा ल्याइरहेको जमिन पनि खेतीयोग्य नरहने स्थानीयको गुनासो छ । नगरपालिकाले खेल मैदानस्थल निर्माणका लागि आयठेक्कामा लगाइएको जमिनबाहेक नजिकै अन्य दुईवटा बालुवाखानी सञ्चालनमा छन् । खेत सम्याउन अनुमति लिएका स्थानबाट बालुवा उत्खनन गरेर बिक्री भइरहेको छ । पर्यावरणलाई ख्याल नगरी बालुवा खानी सञ्चालनमा आए पनि नगरपालिकाले भने बेवास्ता गरेको छ । जथाभावी बालुवाखानी सञ्चालन र पाँच वर्षअघिको भूकम्पका कारण जमिन भासिएकाले चाँगुनारायण मन्दिर पहिरोको जोखिममा परेको छ ।

२०७२ को भूकम्पपछि युनेस्कोले गरेको रियाक्टिभ मोनिटरिङमा चाँगुनारायण मन्दिर रहेको जमिन भास्सिएको देखाएको थियो । भूकम्पपछि सरकारले पठाएको रिपोर्ट र भूविज्ञहरूको सूचनाका आधारमा युनेस्कोको ‘वर्ल्ड हेरिटेज सेक्सन’ले गरेको अनुगमनमा मन्दिरका संरचना भत्किएको र जमिन भासिएको बताएको थियो । युनेस्को वल्र्ड हेरिटेज सेक्सनमा कार्यरत मितुना श्रेष्ठ भन्छिन्, ‘भूकम्पपछि संरचनासँगै जमिन भासिएको भूगर्भविद्हरूले बताउँदै आए पनि यसको मुख्य कारण भने अध्ययन गरिएको छैन । हालसम्म सरकारीस्तर र विज्ञहरूले गरेका सर्वेक्षण हेर्दा जंगल फँडानी, खानीलाई मुख्य कारण मानिएको छ ।’ चाँगुनारायण मन्दिर मात्र नभई नजिकै रहेको ऐतिहासिक महत्व बोकेको शंख दह पनि जमिन भासिँदै गएकाले पुरिने अवस्थामा छ ।
बालुवा उत्खनन गरेर माटोले पुर्दै
सम्झौताविपरीत जमिनको लेभलभन्दा तल गएर बालुवा उत्खनन गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । स्थानीयले घरजग्गासहित चाँगुनारायण मन्दिर रहेको सिंगो डाँडोलाई नै असर गर्ने गरी भूक्षयको सम्भावना भएकाले खानी तत्कालै अनुगमन गरिदिन २६ माघमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । जिल्ला प्रशासनको नगरपालिकालाई पत्र पठाएपछि नगरपालिकाले १९ चैतमा अनुगमन गरेको थियो । अनुगमनमा जमिनको सतहमुनिबाट बालुवा र माटो निकालिएको पाइएकाले नगरपालिकाले पुर्न लगाएको छ ।
तर, स्थानीयका अनुसार ठेकेदार कम्पनीले रातिको समयमा बालुवा निकालेर बिहान माटोले पुर्दै आएको बताएका छन् । नगरपालिकामा कार्यरत नासु विष्णुहरि आचार्य भन्छन्, ‘हामी अनुगमनमा जाँदा सम्झौताविपरीत जमिनको सतहमुनि गएर उत्खनन गरेको भेटिएकाले पुर्न लगाएका छौँ, सम्झौताअनुसार काम अगाडि बढाउन निर्देशन दिएका छौँ ।’ नगरपालिकाका अनुसार खेलमैदान निर्माणस्थलको काम करिब २० प्रतिशत मात्रै सम्पन्न भएको छ । ठेकेदार कम्पनी सम्झौताविपरीत गएमा ठेक्का जुनसुकै समयमा पनि रद्द गर्न सकिने सम्झौतामा उल्लेख छ ।
तर, ठेकेदार कम्पनीले सम्झौताविपरीत २० देखि २५ फिटमुनिबाट बालुवा उत्खनन गरेपछि नगरपालिकाले माटोले पुर्न लगाएको थियो, तर अहिले पनि धमाधम उत्खनन भइरहेको छ । नगरपालिकाका एक कर्मचारी भन्छन्, ‘हामीले खेलमैदानका लागि मात्रै नियमित अनुगमन गर्न सक्दैनौँ, स्थानीयको गुनासो आएमा फेरि अनुगमन गर्छौँ, आशा छ अब सम्झौताविपरीत ठेकेदार कम्पनी जाँदैन ।’
