डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प

बुधबार, १८ चैत, २०७७
डिजिटल संस्करण

डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जिप व्यवसायीहरूले भाडा बढाउन माग गर्दै गाडी थन्क्याएपछि सुपानी–दुनै सडकखण्डमा चलाउँदै आएको यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाले तीन सय पचासबाट भाडा घटाएर तीन सयमा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताए ।

‘हामीले दुई स्थानीय तहले तीन सय कर उठाउँदा मारमा परेर पनि तीन सय पचासमै यात्रु बोकियो,घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निर्णयबाट गाडी बन्द गरिएको हो । दर्जनौँ जिपधनी र चालकको रोजी–रोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ, पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ नै,’ पौडेलले भने ।

जिप व्यवसायीहरूले क्षमताभन्दा बढी मान्छे हाल्न पाउनुपर्छ भनेर कानुनमा नभएका कुरा गरेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए । ‘तिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियमविपरीत राखेका स्थानीय तहका ढाट हटाइयो, उनीहरूले नियमित तिर्ने कर घटेपछि भाडा पनि पचास रुपैयाँ घटाइएको हो,’ पाण्डेले भने ।

सुपानी–दुनैको १४ किलाेमिटर सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयले भाडा तीन सय पचासबाट घटाएर तीन सयमा झारेको थियो । जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर संकलन केन्द्रहरू अवैधानिक भन्दै प्रशासनले उठाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो ।

तर, प्रशासनले निर्णय गरेको दुई दिन नबित्दै जिप व्यवसायीले यातायात सेवा ठप्प पारेका हुन् । दुनै–सुपानी सडकखण्डमा दुई दर्जन धेरै जिपहरू सञ्चालनमा छन् । 
 

सुझावित समाचार