बाजुरा र अछामको साँफे–मार्तडी सडकखण्डअन्तर्गत पर्ने बुढीगंगा नदीमा निर्माण हुन लागेको पुल चार वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन । करोडौँ खर्च गरेर पुल बन्न नसकेपछि सडक खुलाउन केही वर्षका लागि बेलिब्रिज बनाइएकाे छ। बाजुराको बडिमालिका नगरपालिका ४ र ६ को बीचमा रहेको जडांगा नदीमा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गरी सक्नुपर्ने सम्झौता भए पनि ठेकेदारको लापरबाहीका कारण चार वर्षमा तीनवटा पिल्लरबाहेक अरू निर्माण हुन सकेको छैन ।
पुल निर्माणका लागि ०७३ साल असार ३० गते काम सुरु भई ०७६ असार ३० गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । ठेकेदारको ढिलासुस्तीका कारण सम्झौता अवधिमा काम गर्न नसकेपछि पचास मिटर लम्बाइकाे पक्की पुल निर्माण कार्य अलपत्र परेको छ ।
पुल निर्माणका लागि नाै करोड ८३ लाख ८२ हजार ५ सय ७९ रुपैयाँ ३९ पैसाको लागत अनुमान गरिए पनि काठमाडौं मसिना जेभीले पाँच करोड पाँच लाख १६ हजार नौ सय रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो ।
चार वर्षमा तीनवटा पिल्लर उठाउनेबाहेक अरू कुनै काम नभएको स्थानीय शेरबहादुर शाहीले बताए । उनले भने, ‘पुल निर्माणको ठेक्का पाएको ठेकेदारको लापरबाही र सडक डिभिजन कार्यालयको बेवास्ताका कारण पुल बन्न सकेन।’
यता सडक डिभिजन कार्यालय साँफेबगर अछामका प्रमुख ललित खनालले चार वर्षसम्म पुल निर्माण हुन नसक्दा आफू दुःखी भएको बताए । आफू सडक डिभिजन कार्यालय साँफेमा आएको एक वर्ष मात्र भएको खनालले बताए । खनालले सडक डिभिजन कार्यालय साफेँमा आफू आइसकेपछि पुलको तीन वटा पिल्लर निर्माण गर्ने कार्य सुरु भएको बताए । चार वर्ष बित्दा पनि निर्माण हुन नसकेको पुल अबको एक वर्षमा सम्पन्न गरेर छोड्ने कार्यालय प्रमुख खनालको भनाइ छ ।
ठेकेदारले पुल निर्माणका लागि एक करोड १९ लाख ६५ हजार ६ सय २२ रुपैयाँ पहिलो किस्ताबापतको भुक्तानी लिइसकेको र दोस्रो किस्ताका लागि आफूले ९५ लाख भुक्तानी गरेको सडक डिभिजन कार्यालय प्रमुख ललित खनालले बताए ।
काठमाडौं मसिना जभी प्रालिका ठेकेदार उमेश रिजालले ०७६ साल साउन २५ गते आएको अविरल वर्षाका कारण पुल निर्माणका लागि बनाएको बीचको पिल्लर बाढीले बगाएपछि आफूलाई काम गर्न असजिलो भएको बताए । उनले भने, ‘वर्षात्मा निर्माण गरेको पिल्लर बाढीले बगायो । त्यसपछि कोभिडको कारण सम्झौतामा समस्या भएर तोकिएको मितिमा पुल बन्न सकेन ।’
बुढीगंगा नदीमा पुल नबन्दा जिल्ला सदरमुकाम मार्तडीदेखि बाजुराूपुर्वीउत्तर क्षेत्रका ६ वटा स्थानीय तह र छिमेकी जिल्ला मुगु, हुम्ला जुम्मालगायतका स्थानमा आवतजावत बन्द भएको थियो । आवतजावत नै बन्द भएपछि दुई महिनामा एक करोड ८८ लाखमा बेलिब्रिज निर्माण गरिएको छ ।