अघिल्लो वर्षभन्दा १० प्रतिशतले बढ्दा २ करोड ४३ लाख नागरिक इन्टरनेटमा जोडिन सक्ने
नेपालको कुल जनसंख्यामध्ये ८१ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७७÷७८ को मंसिर महिनासम्ममा २ करोड ४३ लाख ४७ हजारमा इन्टरनेटको पहुँच पुगेको छ । गत आवको सोही अवधिको तुलनामा इन्टरनेट पहुँच १० प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आवको मंसिर महिनासम्ममा ७२ दशमलव ४२ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार फिक्स ब्रोडब्यान्डको पहुँच २१ प्रतिशत छ भने मोबाइल ब्रोडब्यान्डको पहुँच ५९ दशमलव ६७ प्रतिशत छ । गत आवको सोही अवधिमा भने फिक्स ब्रोडब्यान्डको पहुँच १५ दशमलव ५३ प्रतिशत थियो भने मोबाइल ब्रोडब्यान्डको पहुँच ५६ दशमलव ४२ प्रतिशत थियो ।
पौने चार करोड भ्वाइस टेलिफोन लाइन वितरण
चालू आवको गत मंसिरसम्ममा पौने ४ करोड भ्वाइस टेलिफोन लाइन वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार ७ लाख ३५ हजार ६ सय ९१ फिक्स टेलिफोन सेवा वितरण भएको छ भने ३ करोड ८१ लाख १७ हजार ७ सय ३५ मोबाइल लाइन वितरण भएको छ । अन्य टेलिकम लाइनको वितरणको संख्या भने २ हजार ९ सय ५ रहेको छ । तथ्यांकअनुसार ३ करोड ६४ लाख २७ हजार ५ सय ३९ जिएसएम लाइन वितरण भएको छ । सिडिएमए १६ लाख ९० हजार १ सय ९६ लाइन वितरण भएको छ ।
गत आवको सोही अवधिमा भने ४ करोड २८ लाख ७८ हजार ३ सय ६७ भ्वाइस टेलिफोन लाइन वितरण भएको थियो । जसमध्ये फिक्स लाइन ७ लाख ९५ हजार ८ सय ९ वितरण भएको थियो भने ४ करोड २० लाख ७९ हजार ६ सय ५३ मोबाइल लाइन वितरण भएको थियो ।
फोरजी प्रयोगकर्ता ६६ लाख

नेपालमा फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३ सय १६ पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २२ लाख ५७ हजार ७ सय ७२ पुगेका छन् भने एनसेलका फोरजी प्रयोगकर्ता ४१ लाख ५३ हजार १ सय ९० पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता भने २ लाख ११ हजार ३ सय ५४ पुगेका छन् ।
त्यस्तै, १ करोड १० लाख ६९ हजार ३ सय ६० ले थ्रिजी प्रयोग गर्दै आएका छन् । नेपाल टेलिकमको थ्रिजी प्रयोगकर्ता ८४ लाख ७० हजार ३ सय १७ पुगेका छन् भने एनसेलका थ्रिजी प्रयोगकर्ता २५ लाख ९९ हजार ४३ पुगेका छन् । १ लाख ३६ हजार ५ सय ७३ ले भने इ–भिडिओ प्रयोग गर्दै आएका छन् ।
नेपाल टेलिकमको ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड २१ लाख ७४ हजार पुगेका छन् । जसमध्ये एडिएसएलका ८ लाख ८६ हजार ३७, केबल इन्टरनेट प्रयोगकर्ता ३ लाख ३१ हजार ९ सय २३ र इन्टरनेट लिज लाइन प्रयोगकर्ता १ हजार १ सय ६५ पुगेका छन् । त्यस्तै, वाई म्याक्स प्रयोगकर्ता ९० हजार ५ सय १५ पुगेका छन् ।
त्यस्तै, एनसेलका ब्रोडब्यान्ड प्रयोगकर्ता ६७ लाख ५२ हजार २ सय ३३ पुगेका छन् । इन्टरनेट सेवाप्रदायकका प्रयोगकर्ता भने ५२ लाख ९ हजार २ सय ५८ पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।