विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : राष्ट्रपति

शुक्रबार, ३० माघ, २०७७
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छिन्। सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार  चाडपर्वले दिएको उनले स्पष्ट पारेकी छन् ।  

सन्देशमार्फत राष्ट्रपतिले भनिन्, ‘यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवर्द्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सदभाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।’  

चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा तामाङ समुदायले कुलपूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ ।  

याे पर्व तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशलगायत देशका विभिन्न भागमा बसोवास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ ।    

राष्ट्रपतिले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सदभाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । रासस
 

सुझावित समाचार