सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कर्मभूमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्झौता भएको छ । नेपाली जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो ।
लघु, साना तथा मझौला उद्यमीको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको बैंकले जनाएको छ ।
कर्मभूमि समाजले व्यावसायिक ज्ञानको कमी, नेपाली बजारको यथार्थ जानकारी नहुने, नीति, नियम र प्रणालीसँग परिचित नहुने, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यावसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुने, वित्तीय साक्षरताका बारेमा जानकारी नहुनाले लघु, साना तथा मझौला उद्यमीहरूले भोग्नुपरेका समस्यालाई समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
बैंकले हाल देशभरमा १ सय ९ शाखा, ९८ एटिएम र १ सय ७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।