बालुवाटार जग्गा प्रकरणमा न्यायाधीश गौतमसँग दुई लाख धरौटी माग

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

बालुवाटारस्थित सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दामा निलम्बनमा परेका जिल्ला न्यायाधीश विनोदकुमार गौतमसँग विशेष अदालतले दुई लाख धरौटी मागेको छ । न्यायाधीश बालेन्द्र रूपाखेती र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

मुद्दा दायर भएको एक वर्षपछि गौतम अदालतमा उपस्थित भएका थिए । उनी भौतिक पूर्वाधार मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत रहँदा प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्तावमा कानुनी राय दिएका थिए । उनको समेत त्यसमा सहमति भएकाले हिनामिनामा मिलेमतो रहेको दाबीसहित मुद्दा दायर भएको थियो । 

मन्त्रालयबाट गएको प्रस्तावकै आधारमा प्रधानमन्त्रीनिवास विस्तारको नाममा जग्गा हिनामिना भएको थियो । गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको थियो । चितवन जिल्ला अदालतमा न्यायाधीशका रूपमा कार्यरत गौतम मुद्दा दायर भएसँगै निलम्बनमा परेका थिए । 

बालुवाटार जग्गा प्रकरणमा मुद्दा दायर भएको एक वर्ष नाघे पनि मुख्य आरोपी अझै अदालत उपस्थित भएका छैनन् । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, हिनामिनाका योजनाकार रहेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी अझै फरार छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात भने पुर्पक्षका लागि थुनामा छन् । 
 

सुझावित समाचार