नेपालका मोष्टवान्टेड अपहरणकारी दार्जिलिङमा नाम फेरेर व्यापारी

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण

१२ वर्षअघि काठमाडौंमा भएको एक ‘हाइप्रोफाइल’ अपहरणमा संलग्न अपहरणकारी दार्जिलिङमा लुकेर व्यापार गर्दै आएको खुलेको छ ।

व्यवसायीलाई अपहरण गरी फिरौती असुल्ने गिरोहका दुर्गाबहादुर बुढाथोकीले प्रकाश क्षेत्रीको नाममा दार्जिलिङमा बसेर प्रकाश स्टोर नामक कपडाको होलसेल पसल चलाउँदै आएका थिए । 

विदेश बसेर नाम फेरे पनि उनले आफ्नो पुरानो अपराध भने लुकाउन सकेनन् । बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सिआइबी)ले बुधबार पक्राउ गरेको छ । 

उनीसहितको समूहले १ पुस २०६५ मा एक व्यवसायीलाई अपहरण गरी फिरौती लिएर छाडिदिएको थियो । जसमा प्रह्लाद महत, विकास कार्की, विनोद कार्की, अनिल गुरुङलगायत सहभागी थिए । महतलगायतका अपहरणकारी त्यतिवेला नै पक्राउ परे पनि बुढाथोकी भने लामो समयसम्म लुक्न सफल भएका थिए । 

बुढाथोकी विगतमा मोटरसाइकल चोरी तथा गुन्डागर्दीमा संलग्न थिए । २५ वैशाख ०६४ मा उनले एभरेस्ट होटेलको पार्किङबाट मोटरसाइकल चोरी गरेकोमा पक्राउ परेका थिए । उनी महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतको ग्रिल तोडेर भागेका थिए । 

फरार रहेकै वेला महतको समूहसँग मिलेर उनले ती व्यवसायीलाई गाडीमा राखी टोखामा लगेर बन्धक बनाई फिरौती असुलेका थिए ।

सुझावित समाचार