देशमा बढ्दै गएको अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको ठहर गर्दै राप्रपाले पुस १७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।
परिवर्तनको मार्गचित्र नै गलत भएकाले त्यसलाई सच्याएर हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको राप्रपाले निष्कर्ष निकालेको हो ।
केही दिनअघि काठमाडौंमा सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले लिएका एजेन्डा हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पुनर्स्थापना गर्न र सहज रूपमा सबै अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको निर्णय गरेको थियो ।
राप्रपाले अंगीकार गरेका एजेन्डाहरूलाई सुन्नसमेत नचाहने तप्कामा समेत पार्टीका एजेन्डाहरूको विषयमा बहस सुरु हुनु सुखद रहेको बताउँदै एजेन्डा स्थापनाका लागि आन्दोलनमा जानुपरेको राप्रपा नेता मोहन श्रेष्ठ बताउँछन् ।
भ्रष्टाचार, बेरोजगारी समस्या, नियमित रूपमा बढ्दै गएको धर्म परिवर्तनको विरोध तथा सनातन हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्रको पुनर्स्थापनाको माग राखी आन्दोलनको तयारी गरेको राप्रपाले आगामी पुस १७ गते काठमाडौंमा बृहत् जनप्रदर्शनको तयारी गरिरहेको छ ।
आन्दोलन परिचालनका लागि पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन जनपरिचालन समितिसमेत गठन भएको छ ।
‘हामी उपत्यकाका १५ वटै निर्वाचन क्षेत्र र सबै वडा तहको बैठकमा सहभागी भएका छौँ,’ नेता तामाङ भन्छन्, ‘राप्रपाको जनप्रदर्शनमा कार्यकर्ता पंक्ति मात्रै होइन, परिवर्तनको पक्षमा रहेका आमजनताको उत्साहजनक सहभागिता रहनेछ ।’