निजगढ विमानस्थल निर्माण प्रक्रिया अन्योलमै, तर प्राधिकरणद्वारा गुरुयोजना बनाउन कम्पनी छनोट

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सिजी इन्फ्राटारविडिए जेभीसँग सम्झौता गरेको छ । नेपाली कम्पनी र भारतीय कम्पनी संयुक्त रूपमा गुरुयोजना निर्माणका लागि बोलपत्रमा सहभागी भएका थिए । सोही कम्पनीलाई गुरुयोजना निर्माणको जिम्मा दिइएको हो । 

प्राधिकरण राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले केही दिनअगाडि मात्रै गुरुयोजना निर्माण गर्न सिजी इन्फ्राटारविडिए जेभीसँग सम्झौता भएको जानकारी दिएको छ । ‘कम्पनीले १३ महिनाभित्र गुरुयोजना निर्माण सक्ने गरी सम्झौता भएको छ,’ निर्देशनालयका प्रमुख प्रदीप अधिकारीले भने । गुरुयोजना निर्माणको लागत २९ करोड ८९ लाख ९० हजार ९ सय रुपैयाँ रहेको छ । गुरुयोजना निर्माणका लागि आह्वान भएको बोलपत्रमा १३ कम्पनी सहभागी छन् ।  

 शिलान्यास नै नगरी बाहिरिए मन्त्री भट्टराई 
गत साता मात्रै राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गत वर्ष मंसिरमा नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्ने घोषणा गरेका थिए । तर, घोषणा गरेको एक वर्षमा कम्पनीसमेत छनोट नै नगरी मन्त्री भट्टराई आफैँ

 बिदा भएका छन् । विमानस्थल निर्माणका लागि कुन मोडालिटी छनोट गर्ने भन्ने विषयमा नै सरकार अलमलमा परेको छ । विमानस्थलमा निर्माण गर्न लगानी बोर्डले छनोट गरेको स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले प्रस्ताव नै पेस नगरी एक वर्ष समय गुजारेको थियो । जसको म्याद गत असोज १४ गते सकिएको छ । विमानस्थल निर्माणमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गर्न थालेका छन् । लगानीबोर्डको गत कात्तिकमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको ४५औँ बैठकमा निजगढले प्रवेश नै पाएन । 

साढे दुई वर्षअगाडिको लगानी सम्मेलनका क्रममा निजगढ विमानस्थल बनाउन प्रस्ताव पेस गरेका सात कम्पनीमध्ये अन्यलाई प्राविधिक र वित्तीय रूपमा अयोग्य घोषित गर्दै जुरिचलाई मात्रै छनोट गरेको थियो । ६ असोज ०७६ को बोर्ड बैठकले जुरिचसँग मात्रै थप प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । 

गत वर्ष ३ माघमा बोर्डले जुरिचसँग व्यावसायिक र प्राविधिक प्रस्ताव दिन ४५ दिनको म्यादसहित सूचना निकालेको थियो । सुरुको सूचनाअनुसार कम्पनीको प्रस्ताव नआएपछि सरकारले म्याद थप गरेर १४ असोजसम्म अन्तिमपटकका लागि म्याद थप गरिएको थियो ।  
 
 रूख गणनाको कामसमेत सुस्त 
डिभिजन वन कार्यालयले रूख गणनाको काम गत मंसिरमा नै सम्पन्न भएको बताएको थियो । तर, हालसम्म ५७ हजार ३ सय ५० रूखको मात्रै गणना गरेको छ । विमानस्थलको १९ सय हेक्टर जमिनमा भएका रूखबिरुवा तथा पोल गणना गत मंसिरमा नै सम्पन्न गर्ने बताइएको थियो । यता रूख कटानको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।  

पर्यटन मन्त्रालयको पटक–पटकको आग्रहपछि वन विभागमार्फत जिल्ला वन कार्यालयले रूख गणना सुरु गरेको हो । पहिलो चरणमा १ लाख १५ हजार ठूला रूख र ४ लाखभन्दा बढी साना रूख कटान हुने अनुमान छ । पहिलो चरणमा एक मात्रै धावनमार्ग तयार पारिने भएकाले ४ हजार मिटर लामो र ६० मिटर चौडाको हुनेछ । 

प्राधिकरणले गरेको अध्ययनअनुसार पहिलो चरणको काम १ खर्ब २० अर्बमा तयार हुन्छ । सरकारले लगानी बोर्डमार्फत लगानी जुटाएर पिपिपी मोडलमा तयार पार्न लागेको थियो । तर, कुनै कम्पनी नआउँदैमा सरकार पछाडि नहट्ने र प्राधिकरणले पाँच वर्षमा पहिलो चरण निर्माण गर्न सक्ने निर्देशक अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘गौतम बुद्ध र पोखरा विमानस्थल निर्माणकै अनुभवका आधारमा पनि सरकारले बनाउन सक्छ ।’ बहुवर्षीय आयोजना भएकाले सरकारले वार्षिक २० अर्ब छुट्याएर सजिलै विमानस्थल बनाउन सक्ने उनको दाबी छ । 

सुझावित समाचार