ओलीले पार्टीभित्रको अन्तरकलहको रिस संसदमा पोखे : सिंह

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले पार्टीको अन्तरकलहको रिसमा आएर संसद् विघटन गरेको बताएका छन् । 

‘जनताले चुनेर पठाएका जनप्रतिनिधिको अगाडि प्रधानमन्त्रीले विश्वासको मत लिने हो, विघटन गर्ने होइन, यस्तो व्यवस्था संविधानमा कतै पनि छैन,’ उनले भने । 

काठमाडौं क्षेत्र नं. १ ले बानेश्वरमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले केपी ओलीले ०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेझैँ अहिले संविधानमाथि ‘कु’ गरेको आरोप लगाए । 

‘ओलीले संवैधानिक ‘कु’ गरेका छन्, यसविरुद्ध लड्न सबैलाई आह्वान गर्न चाहन्छु,’ उनले भने ।

‘नेकपाको आन्तरिक झगडाको रिस संसदमा पोखिएको छ । ओली जनताको म्यान्डेट लिन्छु भनिरहेका छन् । मजस्तो प्रजातान्त्रिक को हुन सक्छ भनिरहेका छन्, तर जनप्रतिनिधिहरूको संसद् भंग गरेर को प्रजातान्त्रिक हुन सक्छ ?’ उनले प्रश्न गरेका छन् । नेता सिंहले नेपाली जनतालाई कम्युनिस्टहरूले निरन्तर धोका दिँदै आएको बताए । ‘कम्युनिस्टले अहिले मात्रै होइन, जनतालाई यसअघि पनि छक्याएका छन्, अब जनताले चिन्नुपर्छ,’ उनले भने । 

‘कांग्रेसले सरकारको कदमलाई असंवैधानिक कदम त्यत्तिकै भनेका होइनौँ, किनभने त्यो संविधान लेख्ने र जारी गर्ने पार्टी नै कांग्रेस हो,’ उनले भनेका छन् । 

नेता सिंहले जनताले संविधानलाई संस्थागत गर्ने जिम्मेवारी कम्युनिस्टलाई दिए पनि त्यसलाई निभाउन नसकेको आरोप लगाए । 

‘पहिलो संविधानसभाले कम्युनिस्टहरूका चार–चार प्रधानमन्त्री फेरिए, तर संविधान आएन, दोस्राे संविधानसभामा कम्युनिस्टले गर्न नसकेको संविधान जारी गर्ने काम हामीले गऱ्याैँ,’ नेता सिंहले भने, ‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई संस्थागत गर्न हामी जनतामाझ गयौँ, तर जनताले कम्युनिस्टलाई नै सत्ता सुम्पिए, आज त्यसको परिणामस्वरूप कम्युनिस्टले फेरि जनतामाझ घात गरेका छन् । आज ओलीले संवैधानिक ‘कु’ गरेका छन् ।’ 

नेता सिंहले संविधानमाथि प्रहार भइरहँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताए ।

‘यो सरकारको भ्रष्टाचार, दण्डहीनता, कोरोना नियन्त्रणमा असफलता, असुरक्षालगायत अकर्मण्यताले सीमा नाघेकै थियो, कांग्रेसले त गएको वैशाखमै यो सरकारको शासन गर्ने वैधता र नैतिकता सकिएको ठहर गरेको हो, अहिले आफैँले पुष्टि गरेको छ,’ उनले भने । 

नेता सिंहले कांग्रेसले प्रतिपक्षीको भूमिका निभाउँदै आएको दाबी गरे । 

‘हामीले जनविरोधी विधेयकहरू रोकेका छौँ, सरकारका गलत क्रियाकलापको पहिचान गर्ने र सार्वजनिक गर्ने गरेका छौँ, हामीले सरकारका गल्ती देखाउने हो, सच्याउने सरकारले हो,’ उनले भने ।

सुझावित समाचार