राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्लू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत रकम हस्तान्तरण गरेको छ । ५ वटा कम्पनीलाई रकम हस्तान्तरण गरेको हो ।
पशुपति आइरन एन्ड स्टिल प्रालिलाई १ करोड रुपैयाँ, बोटलर्स नेपाल लिमिटेडलाई ५२ लाख ९४ हजार रुपैयाँ, बागमती आयल इन्डस्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैयाँ, हिमाल आइरन एन्ड स्टिल प्रालिलाई ७ लाख ३४ हजार रुपैयाँ र इस्ट एसियन प्लास्टिक इन्डस्ट्रिज प्रालिलाई २ लाख ४० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको जनाइएको छ ।
मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्य उद्योगहरूलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका थिए । हालसम्म १७ वटा उद्योगलाई ६ करोड ७४ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको श्रेष्ठले बताए ।
यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला–साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने जनाइएको छ ।
आयोजनाअन्तर्गत कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकम माग गर्न पाइने बैंकले जनाएको छ ।