क्यानडा ट्रेड एड्भाइजरमा युवा व्यवसायी द्विराज शर्मा नियुक्त

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

क्यानडा सरकारअन्तगर्तको ट्रेड कमिसनर सर्भिसेज (टिसिएस)ले नेपालका युवा व्यवसायी द्विराज शर्मालाई ट्रेड एड्भाइजर नियुक्त गरेको छ । क्यानडाले नेपालमा लगानी भित्र्याउने तथा दुई देशबीचको व्यापार बढाउने उद्देश्यले ट्रेड कमिसनर सर्भिसेजले अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष शर्मालाई ट्रेड एड्भाइजर नियुक्त गरेको हो । 

क्यानडा सरकारले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न र व्यापार बढाउन, समन्वय गर्न तथा सम्बन्ध बढाउन चाहेकाले ट्रेड एड्भाइजर नियुक्त गरेको हो । ट्रेड एड्भाइजर नियुक्त भएसँगै अब क्यानडाले नेपालमा लगानी गर्न तथा नेपालले क्यानडामा व्यापार बढाउन बाटो खुला भएको ट्रेड एड्भाइजर शर्माले बताए । 

भारतमा क्यानडाको ट्रेड कमिसनको कार्यालय रहे पनि नेपालमा अहिलेसम्म कार्यालय थिएन । क्यानडाले नेपालको कृषि, शिक्षा, एभिएसन, पूर्वाधार र क्लिन टेक्नोलोजीमा प्राथमिकता दिएको छ । 

क्यानडाले नेपालमा प्रत्यक्ष रूपमा लगानी भित्र्याउने चाहना गरेको छ । ट्रेड एड्भाइजर नियुक्तसँगै क्यानडा सरकार र नेपाल सरकारका सम्बन्धित निकायबीचमा समन्वय गर्ने, क्यानडाका कम्पनीहरूलाई नेपालमा ब्यापार र लगानीका विषयमा आवश्यक परामर्श तथा समन्वयका लागि पहल हुने उनले बताए ।
शर्मा अन्तर्राष्ट्रिय शिक्षा, उर्जा, पर्यटन, ट्रेडिङ, रियल स्टेट्मा लामो अनुभव भएका युवा व्यवसायी हुन् । उनले अष्ट्रेलिया, युरोप, इन्डियाका लागि शैक्षिक परामर्श दिने व्यवसायीका संघको अध्यक्ष रहेर कामसमेत गरिरहेका छन् ।
 

सुझावित समाचार