विवेकशील नेपाली दल र साझा पार्टी दोस्रोपटक एक भएका छन् । यसअघि यी दुई दल एक भएर फुटेका थिए ।
काठमाडौंबाट भर्चुअल प्रणालीबाट आयोजना गरिएको कार्यक्रममा यी दुवै दलले एक भएको घोषणा गरेका हुन् ।
नयाँ दलकाे नाम विवेकशील साझा पार्टी राखिएकाे छ ।
योसँगै साझा पार्टीका संयोजक रहेका रवीन्द्र मिश्र अध्यक्ष भएका छन् भने विवेकशील नेपाली दलका अध्यक्ष रहेका मिलन पाण्डे राष्ट्रिय संयोजक भएका छन् ।
एकीकरणपत्रमा मिश्र र पाण्डेले हस्ताक्षर गरेका छन् ।
एकीकरण कार्यक्रममा मिश्रले आफ्नो पार्टीले शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने विषयमा अघि बढ्ने बताए । कार्यक्रममा पाण्डेले नयाँ दललाई युवाको पार्टी बनाउने बताए ।
उनले सार्वजनिक शिक्षामा ठूलाे सुधारकाे आवश्यकता रहेकाे र भ्रष्टाचार सबैभन्दा घातक राेग रहेकाे बताए । उनले वादभन्दा पनि विकास र प्रगति मुख्य कुरा रहेकाे बताए ।
दुवैजनाले विगतमा एक भएको पार्टी फुटेकोमा गल्ती महसुस भएको बताए ।
कार्यक्रममा नेता पाण्डेले एकीकृत दल लोकतान्त्रिक र प्रगशील दुवै सिद्धान्तलाई अँगाल्ने बताए । उनले यस दललाई निर्विकल्प शक्तिका रूपमा स्थापित गर्ने बताए ।
साथै, उनले विदेशमा रहेका नेपालीहरूको हकहितको विषयलाई जोडतोडले उठाउने बताए । वैकल्पिक केन्द्रका रूपमा दललाई अघि बढाउने उनको भनाइ छ ।
एकीकृति पार्टीको चुनाव चिह्न तराजु राखिएको छ ।
नयाँ पार्टीको केन्द्रीय समिति १ सय ३० जनाको रहने जनाइएको छ । जसमा दुवै दलबाट ६५–६५ रहनेछन् ।
साथै, दुई महिनाभित्र सवै संरचना समायोजन गर्ने एकीकरण कार्यक्रममा बताइएको छ ।
त्यसैगरी, ६ महिनाभित्र एकता महाधिवेशन गर्ने र त्यसबाट नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।