सेयर बजार परिसूचक नेप्से लगातार सातौँ कारोबार दिन वृद्धि भएको छ । यी ७ दिनमा मात्रै नेप्से करिब ३ सय अंकले बढेको छ । नेप्से परिसूचक बुधबार ७० अंकले बढेर २०७१ बिन्दुमा पुगेको छ ।
बुधबार बजारमा पुनः खरिद पक्ष बलियो भएको छ । नेप्से कारोबार सुरु भएदेखि बढ्ने क्रममा नै रह्यो भने सो दिनको न्यून बिन्दु (२०१६) पनि सुरु हुँदाको बिन्दुमै कायम भयो । बजारमा कारोबार रकमसमेत ७ अर्ब ४६ करोड रुपैयाँबराबर भएको छ ।
यस दिन १ सय ३३ किसिमका धितोपत्र र ऋणपत्रको मूल्य बढेर तथा ४५ को मूल्य घटेर कारोबार भएको छ । कुल २ सय १ किसिमका धितोपत्र तथा ऋणपत्रको कारोबार भएको थियो । यस दिन व्यापारमूलकबाहेक सबै समूहगत परिसूचक वृद्धि भएका छन् । लगानीकर्ताहरूको सम्पत्तिको मूल्य २७ खर्ब ७५ अर्ब रुपैयाँबराबर भएको छ ।
लघुवित्तमा उछाल
बुधबार ३३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । जसमध्ये २३ वटा कम्पनी लघुवित्त क्षेत्रका रहेका छन् । सातवटामा भने १० प्रतिशत वृद्धिसहित सर्किट ब्रेक भएको हो । लघुवित्त समूहको परिसूचकसमेत सबैभन्दा धेरै करिब ८ प्रतिशतले बढेको हो । छिमेक, विजय, लक्ष्मी, मिथिला, जनउत्थान, एनएमबी लघुवित्तको मूल्यमा सर्किट ब्रेक लागेको हो । यी सबै कम्पनीको मूल्य भने करिब १ हजारदेखि १ हजार ४ सय रुपैयाँ माथि छ ।
छिमेकको चालू आवको पहिलो त्रैमासमा नाफा ७५ प्रतिशतले घटेको छ । २२ करोड नाफा गरेको कम्पनीको ६ करोड रुपैयाँमा नाफा सीमित भएको हो । गत आव अन्त्यमा भने कम्पनीले ६४ करोड रुपैयाँ नाफा कमाएको थियो । यो लघुवित्तहरूमै उच्च हो । कम्पनीले ८ वर्षदेखि ४० प्रतिशत माथि लाभांश दिँदै आएको छ ।
विजय लघुवित्तको गत आवमा नाफा करिब ११ प्रतिशतले घटेर ५ करोड रुपैयाँमा सीमित भएको थियो । चालू आवको पहिलो त्रैमासमा पनि नाफा करिब २२ प्रतिशतले घटेर १ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले हालै खप्तड लघुवित्तलाई एक्वायर गरेको छ ।
लक्ष्मी लघुवित्तको पहिलो त्रैमासमा नाफा १२ प्रतिशतले घटेर २ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । गत आवमा पनि कम्पनीको नाफा ३४ प्रतिशतले घटेको थियो । मिथिलाको पहिलो त्रैमासमा नाफा भने गुणात्मक बढेर १ करोड रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीले २३ प्रतिशतले नाफा बढाएर करोड रुपैयाँ पुर्याउन सकेको थियो ।
जनउत्थानको पहिलो त्रैमासमा नाफा १५ प्रतिशतले बढेर १ करोड रुपैयाँ र गत आव अन्त्यमा ९ प्रतिशतले घटेर २ करोड रुपैयाँमा सीमित भएको थियो । एनएमबी लघुवित्तको पहिलो त्रैमासमा नाफा १ सय प्रतिशतले बढेर ३ करोड रुपैयाँ र गत आवमा २५ प्रतिशतले बढेर कम्पनीको नाफा ७ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
हुनत, गत वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार लघुवित्त संस्थाहरूले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा त्यो सीमाभन्दा बढी हुने रकमको ५० प्रतिशतबराबर रकम ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसअनुसार लघुवित्तले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा त्यसरी बढी हुन आउने कुल रकमको आधा मात्रै लगानीकर्ताले पाउनेछन्, आधा २ कोषमा राख्नुपर्नेछ । यसअघि २० प्रतिशतको सीमामाथि लाभांश दिँदा त्यस्तो रकमको २५ प्रतिशत मात्र ग्राहक संरक्षण कोषमा राखे पुग्थ्यो ।