तीन दशकपछि स्तरोन्नति गरिँदै प्रदेश राजधानी जोड्ने राजमार्ग

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

प्रदेश राजधानी सुर्खेत जोड्ने राजमार्ग ट्र्याक खोलेको तीन दशकपछि स्तरोन्नति गर्न सुरु भएको छ । सडक फराकिलो बनाउनेसँगै कालोपत्रे गर्न थालिएको हो । सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने खलंगा–कुपिण्डेताल–बालुवासंग्रही सडकको स्तरोन्नतिको काम सुरु गरिएको छ ।

सल्यान–सुर्खेतको लाइफलाइन मानिने यस सडकखण्डको ढोरपीपलदेखि ज्यामिरेसम्मको सडकमा नालीसहित आठ मिटर फराकिलो र साढे पाँच मिटरमा कालोपत्रे गर्न लागिएको पूर्वाधार विकास कार्यालय, सल्यानका प्रमुख विनोद पुनले बताए । प्रदेश सरकारको सहकार्य र अन्य सरोकारवालाको सहयोगमा सडक स्तरोन्नतिको काम सुरु गरिएको प्रमुख पुनले बताए । 

यो सडक स्तरोन्नतिको जिम्मा गाल्वा धुलिखेल जेभीले पाएको छ । निर्माण कम्पनीका सञ्चालक प्रमोदकुमार श्रेष्ठले १८ करोड १८ लाख ३६ हजार नौ सय ९८ रुपैयाँमा स्तरोन्नतिको काम सुरु गरिएको बताए । दुई वर्षभित्रमा सम्पूर्ण काम सम्पन्न गरिसक्ने उनले बताए । 

सडक स्तरोन्नतिको सुरुआत गर्दै कर्णाली प्रदेशका आर्थिक योजनामन्त्री प्रकाश ज्वालाले देशमा राजनीतिक व्यवस्था परिवर्तनसँगै विकास निर्माणका कामले तीव्रता पाएको बताए । अहिलेको विकास गणतन्त्र, लोकतन्त्र, संघीयताको उपहार भएको बताउँदै मन्त्री ज्वालाले भने, ‘पहिले देशमा विकासले तीव्रता पाउन सकेको थिएन, तर राजनीतिक व्यवस्था परिवर्तन भएसँगै विकासले तीव्रता पाउन थालेको छ ।’

सल्यानबाट कर्णाली प्रदेशको राजधानी जोड्ने लाइफलाइनको रूपमा रहेको यस सडक प्रदेशको प्राथमिकतामा परेको उनले बताए । ‘हामीले पटक–पटक सडकको स्तरोन्नति र कालोपत्रेका लागि बजेट विनियोजन गर्दै आएका छौँ, अहिलेसम्म यस सडकमा झन्डै ४० करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरिसकेको छ,’ मन्त्री ज्वालाले भने,े ‘अब विकास निर्माणका कामको जिम्मेवारी प्रदेश सरकारले लिन्छ ।’

सुझावित समाचार