चार वर्षीय अनुज । झट्ट देख्दा तन्दुरुस्त छन् । मिठो बोल्छन् । राम्रोसंँ हिँडडुल गर्छन् । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका- २ की निमकला खनाललाई बिहानै अनुज काखमा नबसे दिनभर केही गर्ने जाँगर चल्दैन ।
निमकलाले अहिलेसम्म आफ्नो नाति काखमा राख्न पाएकोमा सबैभन्दा ठूलो सौभाग्य सम्झेकी छिन् । किनकि चार वर्षदेखि अरूको रगत मागेर खनाल परिवारले अनुजलाई बचाइरहेका छन् ।
अनुज जन्मेदेखि थालेसिमियाँ रोगले पीडित छन् । उनको शरीरले आफैँ रगत उत्पादन गर्दैन । अनुजलाई महिनामा एकपटक अनिवार्य रगत चढाउनुपर्छ । कल्पना गरौँ, गरिब परिवारलाई त्योभन्दा ठूलो विडम्बना के होला ।
उमेरमै श्रीमान् बिते । साहुको ऋणका कारण छोरा विष्णुप्रसाद खनाल पनि परदेश छन् । बुढेसकालमा नातिको उपचार र घर व्यवहार सम्हाल्नुपर्दा उनलाई दिनमा भोक र रातमा निद्रा नपरेको वर्षौँ भएको छ । फूलजस्तो नाति पीडाले छटपटाएको कसरी हेरौँ,’ उनले भनिन्, ‘कहिलेसम्म रगत मागेर बचाउने हाे ।’
एक हप्ता रगत दिन ढिला भएमा अनुज सिकिस्त हुन्छन् । उनी जन्मिएपछि बिस्तारै शरीर सुक्दै र सेतो हुँदै गयो । त्यतिवेला खान मन नलाग्ने र उल्टी हुने समस्या पनि थपिएको थियो । चार महिना पुगेपछि परिवारले बुटवलदेखि काठमाडाैंसम्म पुर्याए ।

- आमाको साथमा अनुज
नेपालमा सामान्य उपचारले राेग निकाे नभएपछि टेकुबाट रगत भारत पठाएर परीक्षण गर्दा थालेसिमियाँ भएको पुष्टि भएको बालककी फुपू विष्णु खनाल भुसालले बताइन् । चिकित्सक तथा थालेसिमियाँ संस्थाको फाउन्डर दुर्गा पाठकले नेपालमा उपचार सम्भव नभएको र भारतमा करिब ३० लाखमा उपचार हुने बताएपछि बालकलाई काठमाडाैंबाट घर फर्काइएको भुसालले जानकारी दिइन् ।
खनाल परिवारका लागि ३० लाख कल्पनाबाहिरको कुरा हो । ‘अब मागेरै पनि रगत कसरी चढाउने ? समस्यामा छौँ,’ खनालले भनिन्, ‘परिवारसँग ३० लाख खर्चेर उपचार गर्ने कुनै उपाय छैन ।’
खनाल परिवारसँग सम्पत्तिको नाममा सजिलै खान पुग्ने खेतबारी छैन । गाउँको घरगोठ पनि साहुकोमा बन्धकी राख्नुपर्ने अवस्था छ । अहिलेसम्म स्थानीय तहले कुनै आर्थिक सहयोग गरेकाे छैन । राज्यका अन्य संयन्त्रबाट पनि कुनै सहयोग भएकाे छैन । आफन्तहरूसँग हात जोडेरै चार वर्षसम्म रगत मागिरहेको फुपू विष्णु खनालले गुनासो गरिन् ।

अनुजलाई प्रत्येक महिना अर्घाखाँचीबाट बुटवल पुर्याएर रगत दिनुपर्छ ।अनुजका बुबा विष्णु भारतमा छन् । उनी गत पुसमा भारत पसेका हुन् । गएको केही महिनामै उनी पनि लकडाउनको चपेटामा परेर पैसा कमाउन सकेका छैनन् । उनी सात–आठ महिनादेखि कामविहीन छन् ।
घरमा छोराको हरि बिजोक छ । उनका ११ वर्षीय छोरा आरिस पनि छन् । उनलाई पनि दुई वर्षदेखि रातमा आँखा नदेख्ने समस्या थपिएकाे छ । आरिस दिउँसोमा मज्जाले हिँडडुल गर्छन् । तर, घाम डुबेपछि सहारा चाहिन्छ ।
श्रीमान् परदेश । दुई छोराको पीडा समाल्न अनुजकी आमा सावित्रालाई सजिलो छैन । चिन्ता नभएको दिन छैन । उनले गुनासो गर्दै भनिन्, ‘रुन पनि आँखामा आँसु सकियाे । अब छाेरालाई कसरी बचाउने हाे ? गरिबलाई पीडामाथि थप पीडा हुँदाे रहेछ ।’