सेयर बजारमा एकै दिन करिब ७ अर्ब रुपैयाँको कारोबार भएको छ । ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएसँगै आइतबारको तुलनामा कारोबार रकम करिब १३ प्रतिशतले वृद्धि भएको हो । कोभिड–१९ का कारण अन्य लगानी क्षेत्र खासै चलायमान हुन नसक्दा व्यवसायीहरूसमेत बजारमा कारोबार गर्न थालिरहेका छन् । यसले पनि बजारमा लगानी बढिरहेको ब्रोकरहरू बताउँछन् ।
कारोबार रकम बढे पनि हालसम्मकै उच्च बिन्दुनजिक बजार आइपुग्न थालेसँगै सेयर बिक्री गर्ने पनि बढेका छन् । यही कारण कारोबार अवधिमा १ हजार ८ सय ११ सम्म पुगेको बजार बन्द हुँदा भने ४ अंकको वृद्धिसहित १ हजार ७ सय ८२ बिन्दुमा सीमित भएको छ ।
बजार उच्च बिन्दु नजिकिएसँगै केही लगानीकर्ता यसअघि बढेका समूहबाट बैंकिङतिर लागेका छन् । आगामी दिनमा बैंकिङ समूहको परिसूचक बढेमा नेप्से पनि बढ्न सक्ने र पुनः बजारको वृद्धिले अन्य समूहलाई वृद्धिको बाटोमा डोर्याउन सक्ने अपेक्षामा केही चलाख लगानीकर्ता यसमा लागेको बजार स्रोतहरू बताउँछन् ।
तर, बैंकिङ समूहमा आमलगानीकर्ता नै झुम्मिएको अवस्थामा मात्रै यो सम्भव हुने बजार विश्लेषकहरू बताउँछन् । ‘अहिले केही साना पुँजी भएका संस्थाहरूको सेयर मूल्य निकै बढाइएको पाइयो,’ सेयर विश्लेषक तथा लगानीकर्ता प्रकाश तिवारी भन्छन्, ‘बैंकमै भने यस्तो सम्भव छैन, तर आमलगानीकर्ताकै मनोविज्ञानले काम ग¥यो भने हुन्छ, जस्तो कि पछिल्लो समय पुँजी आधार ठूलै भएको नेपाल लाइफ इन्स्योरेन्समा देखिएको छ ।’ लगानीकर्ताले उच्च मूल्य पुगेका समूहका कम्पनीहरूबाट प्रफिट बुकिङ गर्न थालेका छन् । यही कारण बजारमा बैंकिङ, विकास बैंक र ‘अन्य’ समूहगत परिसूचक मात्र बढे ।
बुधबार विभिन्न संस्थाका २ सय १ किसिमका धितोपत्र तथा ऋणपत्रलगायतको कारोबार भएकोमा ६२ वटाको मूल्य बढेको र ९८ वटाको मूल्य घटेको छ । यस दिन सिटिजन्स म्युचुअल फन्ड २ र जानकी फाइनान्सको मात्र मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । माउन्टेन हाइड्रो, साल्ट ट्रेडिङ मूल्य घट्ने कम्पनीको सूचीमा अग्रस्थानमा रहे । कुल बजार पुँजीकरण २३ खर्ब रुपैयाँबराबर पुगेको छ ।