जनशक्ति नहुँदा चार महिनासम्म सञ्चालनमा आएन आइसियू

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

म्याग्दीको बेनी अस्पतालमा चार महिनाअघि स्थापना गरिएको सघन उपचार कक्ष (आइसियू) सञ्चालनमा आउन सकेको छैन । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुईवटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियू कक्ष स्थापना भएको थियो । गम्भीर बिरामीको उपचारमा सहजताका लागि आइसियू कक्ष स्थापना गरिएको भए पनि जनशक्तिको अभावमा चार महिनासम्म सञ्चालनमा आउन सकेको छैन ।

आइसियू कक्ष नियमित रूपमा सञ्चालन गर्नका लागि कम्तीमा एक–एकजना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथेसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि जनशक्ति नरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत अधिकारीले बताए ।

‘आइसियू कक्ष नियमित सञ्चालनमा आउन नसक्नुमा आवश्यक जनशक्तिको अभाव नै पहिलो कारण हो,’ डा. अधिकारीले भने, ‘मेडिसिन र एनएसथेसिया डाक्टरसँगै मेडिकल डाक्टर र स्टाफ नर्सहरूको समेत बन्दोबस्त मिलाउनुपर्छ । तत्कालका लागि मेडिकल डाक्टर र स्टाफ नर्सहरूको व्यवस्थापन आन्तरिक रूपमा खटनपटन गर्न सक्छौँ, अन्य जनशक्ति थप गर्नुको विकल्प छैन ।’

आकस्मिक रूपमा छोटो समयका लागि
भेन्टिलेटरसहितको आइसियू कक्षमा बिरामीको उपचार गर्न सकिने भए पनि नियमित सेवा सुचारु गर्न अहिले अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरूको जनशक्तिले 
सेवा दिन सम्भव नरहेको डा. अधिकारीले बताए । 

 आइसीयू कक्षमै थन्किए उपकरण
गण्डकी प्रदेश सरकारमातहत रहेका जिल्ला अस्पतालहरूमा भेन्टिलेटरसहितको आइसियू कक्ष बनाउने प्रदेश सरकारको निर्णयबमोजिम म्याग्दीमा गत असारभित्रै दुई भेन्टिलेटर र पाँच बेडको आइसियू मेसिन तथा उपकरण र सामग्री खरिद गरी जडानसमेत भएको थियो ।

प्रदेश सरकारमार्फत एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत एक करोड २५ लाखमा आइसियू र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेकाले तत्कालका लागि स्वास्थ्य कार्यालयको भुइँतलाको कोठामा आइसियू कक्षको सेवा दिने गरी व्यवस्थापन मिलाइएको अध्यक्ष कटुवालले बताए । तर, प्रदेश सरकार र विभागले आवश्यक जनशक्ति नपठाएका कारण नियमित रूपमा आइसियू सेवा सञ्चालन गर्न नसकिएको उनले बताए । 

See More On

सुझावित समाचार