हिमालपारिको लिमी स्वास्थ्यचौकीबाट नियमित सेवा सुचारु

आइतबार, २ कार्तिक, २०७७
डिजिटल संस्करण

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ हिमालपारिको लिमीमा स्वास्थ्यकर्मी नियमित बस्न थालेका छन् ।

गाउँमा स्वास्थ्यकर्मी  नियमित स्वास्थ्य संस्थामा बस्न थालेपछि यहाँका स्थानीय खुसी भएका छन् । गत साउन महिनायता गाउँका स्थानीयहरू पाँच सयभन्दा धेरैले स्वास्थ्यचौकीबाट सेवा लिएका छन् ।

सुरुका वर्षहरूमा सदरमुकाम सिमकोट बसेर दुर्गमको सुविधा लिने प्रवृत्ति बढेको वेला स्थानीय सरकारको पहल र परिचालनमा लिमीमा स्वास्थ्यकर्मीहरू बस्न थालेको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

अहिले लिमी स्वास्थ्यचौकी स्थानीय सरकारको मातहतमा आएपछि बल्ल गाउँमा कर्मचारीहरूको चहलपहल हुन थालेको लिमी जाङकी छेपुटी लामाले बताइन् । अब सानोतिनो बिमारी भए पनि स्वास्थ्य केन्द्रमा औषधि पाइने भएकाले खुसी लागेको लामाले बताएन् ।

साउनयता गाउँपालिकाले लिमीमा चारजना स्वास्थ्यकर्मी पठाएको छ । अवस्था हेरेर स्वास्थ्यकर्मीहरूले सचेतनाका लागि गाउँ–गाउँमा घुम्ती स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको लिमी स्वास्थ्यचौकी इन्चार्ज गोरा भण्डारीले बताए ।

साउनदेखि असोज २८ सम्म पाँच सयजनालाई उपचार गरिएको छ । तिल र जाङ गाउँमा गएर घरदैलो स्वास्थ्य सेवा पनि दिइने गरिएको छ । नाम्खा गाउँपालिका लिमी लगभग कात्तिक महिनादेखि वैशाखसम बाहिरी संसारसँग सम्बन्धविच्छेद हुने गर्दछ । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङबाट दुई दिन र सदरमुकाम सिमकोट पुग्न चार दिन पैदल हिँडेर लिमी पुग्नुपर्ने बाध्यता छ  ।

लिमी जाँदा पाँच हजार मिटर अग्लो हिमाल नारा र न्यालु पार गरेर जानुपर्दा धेरै गाह्रो, शारीरिक र मानसिक तनाव हुने स्थानीवासी र स्वास्थ्यकर्मीहरूको अनुभव छ ।

सुझावित समाचार