पैसा तिर्न नसक्दा बालकको शव तीन दिन अस्पतालमै बन्धक

ऋण निकालेर एक लाख बुझाएपछि विराट अस्पतालले शव दियो, पीडित परिवार भन्छ– अस्पतालको लापरबाहीले बच्चाको ज्यान गयो

बिहिबार, २८ असोज, २०७७
डिजिटल संस्करण
पैसा तिर्न नसक्दा बालकको शव तीन दिन अस्पतालमै बन्धक

विराट अस्पतालमा तीन दिनदेखि बन्धक नातिको शव पाउन बुधबार बिहान बिन्ती गर्दै सिद्धार्थकी हजुरआमा कलावती सदा । अस्पतालले पैसा नदिई शव नदिने अडान लिएपछि भूमिहीन परिवारले ऋण गरेर अस्पताललाई एक लाख रुपैयाँ बुझाएका थिए ।

उपचारमा लागेको एक लाख रुपैयाँ तिर्न नसक्दा विराटनगरको विराट अस्पतालले एक बालकको शव तीन दिनपछि मात्रै परिवारलाई दिएको छ । बुधबार साँझ ऋण निकालेर रकम बुझाएपछि सिराहा नगरपालिका– ४ खरसलवाका दुईवर्षे सिद्धार्थ सदाको शव परिवारले पाएको हो । 

गाउँघरबाट महँगो ब्याजदरमा ऋण निकालेर सबै रकम बुझाएपछि मृत्यु भएको तेस्रो दिन शव पाएको सिद्धार्थकी हजुरआमा कलावती सदाले बताइन् । ‘उपचार गर्दा एक लाख ५० हजार यसअघि नै दिएका थियौँ । उपचारमा लागेको ४० हजार र फार्मेसीको ६० हजार रुपैयाँ ऋण गरेर बुझायौँ,’ कलावतीले भनिन्, ‘केही दिनमा दिन्छौँ भनेका थियौँ, अस्पताले मानेन । शव नै राखेपछि सयकडा तीनका दरले ऋण निकालेर बुझायौँ ।’ अस्पतालले शव दिएपछि बुधबार साँझ नै उनीहरूले घर ल्याएका छन् । 

ठूलाआन्द्रामा समस्या देखिएपछि परिवारले सिद्धार्थलाई १८ असोजमा विराट अस्पतालमा भर्ना गरेको थियो । उनका मामा प्रेमकुमार सदाका अनुसार चिकित्सकहरूले उनको शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यही दिन सिद्धार्र्थको आन्द्राको शल्यक्रिया गरिएको थियो । ‘आन्द्रा काटेर जोड्नुपर्छ भनेपछि सहमति जनायौँ,’ प्रेमकुमारले भने, ‘शल्यक्रियापछि सञ्चो हुनुपर्नेमा छटपटाउने, बेहोस हुने भयो । अस्पतालका चिकित्सकलाई सुनाएपछि एक्सरे गरेर हेर्दा भित्र केही ठाउँमा स्टिच नगरी बाहिर मात्र घाउ स्टिच गरिएको रहेछ ।’ 

त्यसपछि चिकित्सकहरूले दोस्रो शल्यक्रिया गरेर सिलाउँदा ठीक हुन्छ भन्ने सुनाए । सिद्धार्थका परिवारजनले किन लापरबाही गरेको भन्दै सोधपुछ गरेपछि डेढ लाख तिरेर अन्य अस्पताल लैजान भन्दै दबाब दिएको उनले बताए । ‘२३ असोजमा दोस्रोपल्ट शल्यक्रिया गरेपछि पनि निको भएन । नाक र मुखबाट रगत आउन थाल्यो,’ प्रेमकुमारले भने, ‘अवस्था गम्भीर भएपछि फेरि आइसियूमा राखियो । २६ असोजमा आइसियूमै ज्यान गयो ।’ चिकित्सकको लापरबाहीले सिद्धार्थको ज्यान गएको उनको भनाइ छ । 

पहिलो शल्यक्रिया गर्दासम्म लागेको एक लाख ५० हजार रुपैयाँ उनीहरूले अस्पतालाई बुझाएका थिए । त्यसपछि दोस्रो शल्यक्रिया गरेको र तीन दिन आइसियूमा राखेको तथा औषधिको गरेर एक लाख रुपैयाँ दिन अस्पतालले दबाब दिएको हो । त्यो रकम तिर्न नसक्दा बालकको शव तीन दिनसम्म अस्पतालमै राखेको प्रेमकुमारले बताए ।

हाँसीखुसी अस्पताल लगिएका छोराको शल्यक्रिया बिग्रिएर मृत्यु भएपछि सुनीतादेवी सदा विक्षिप्त बनेकी छिन् । पति गुमाएको डेढ महिनामै छोरा पनि गुमाउनुपर्दा उनी विक्षिप्त बनेको प्रेमकुमारले बताए । १९ भदौमा ट्र्याक्टर दुर्घटनामा परेर उनका पतिको मृत्यु भएको थियो । सुनीतादेवी पाँच महिनाकी गर्भवती छिन् ।

See More On

सुझावित समाचार