अर्थ मन्त्रालयले चिनियाँ जहाज ग्राउन्डेड गर्नुको उपयुक्त कारण माग्यो

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमले उपयुक्त कारण नदिएसम्म चिनियाँ जहाज विस्थापनको निर्णय दिन नसक्ने राय अर्थ मन्त्रालयले पर्यटन मन्त्रालयमा दिएको छ । अर्थको उक्त राय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल वायुसेवा निगम व्यवस्थापनमा पुगेको छ । निगम व्यवस्थापनले ६ थान चिनियाँ जहाज चलाउन नसक्ने भन्दै रायका लागि अर्थ मन्त्रालय पठाइएको प्रस्ताव उपयुक्त कारण नभएसम्म निर्णय गर्न नसक्ने भन्दै अर्थले फिर्ता पठाएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदान र सरल ऋणमा किनिएका जहाज भएकाले अर्थ मन्त्रालयको रायपछि मात्रै निर्णय गर्ने राय माग गरेको थियो । यसअघि निगमले १५ साउनबाट चिनियाँ जहाज उडान गर्न नसक्ने भन्दै सञ्चालक समितिबाट निर्णय गराएर पर्यटन मन्त्रालय पठाएको थियो । ‘पर्यटनले मात्रै निर्णय गर्न नसकिने भएकाले अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको थियो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने । 

प्रवक्ता भट्टराईका अनुसार अर्थ मन्त्रालयले विभिन्न कारण खुलाउन पर्यटन मन्त्रालयमा फिर्ता पठाएको र सोहीअनुसार निगमलाई पत्र पठाइएको छ । ‘अर्थले उठाएको प्रश्नको जवाफ निगमले पठाइसकेको तथा अहिले पर्यटन मन्त्रालयले अध्ययन गरेर पुनः अर्थ मन्त्रालय पठाउनेछौँ,’ भट्टराईले भने ।

निगम व्यवस्थापनले जहाज नेपाल ल्याएको ६ वर्षपछि उडान गर्न नसकिने निष्कर्ष निकाल्दै सबै जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको थियो । ‘अर्थ मन्त्रालयले चिनियाँ जहाज विगतमा कसरी खरिद भएको र अहिले फेरि किन नचलाउने भन्ने विषय चासो राखेर पत्र पठाएको थियो,’ निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले भने । अर्थ मन्त्रालयले नेपाल र चीनबीचको सम्झौताको पत्र तथा अन्य प्राविधिक विषयहरूसमेत अध्ययनका लागि कागजपत्र मगाएको र सोहीअनुसार लेखेर पर्यटन मन्त्रालय पठाइएको कार्यकारी अध्यक्ष घिमिरेले बताए । 

निगम व्यवस्थापनले पाइलट तथा इन्जिनियर अभाव भएको, स्पेयर्स पार्टस्मा समेत समस्या भएको तथा अन्य हिसाबले पनि अप्रेसन खर्च धान्न नसकिने र घाटा बढ्दै गएको भन्दै जहाज नउडाउने र त्यसको व्यवस्थापनको जिम्मा पर्यटन मन्त्रालयलाई दिने निर्णय गरेको थियो । प्राविधिक समितिले दुवै जहाज उपयुक्त भएको निष्कर्षसहितको सुझाब दिएपछि सन् २०१२ मा नेपाल वायुसेवा निगम र एभिक कम्पनीबीच सम्झौता भएको थियो । जसमा एक थान एमए ६० र एक थान वाई १२ ई जहाज अनुदानमा दिने र बाँकी चार थान जहाज सरल ऋणमा दिने गरी सम्झौतामा उल्लेख गरिएको थियो । जसमा ३ अर्ब ७२ करोडलाई ऋण मानियो भने २ अर्ब ९४ करोडलाई अनुदानका रूपमा प्रयोग गरिएको थियो ।  

 १ कात्तिकदेखि दिल्ली उडान खुलाउने तयारी
सरकारले १ कात्तिकदेखि भारतको दिल्ली उडान खुलाउने तयारी गरेको छ । गत चैतदेखि बन्द भारतको दिल्ली उडान खुलाउन नेपाल र भारत दुवै पक्षले पहल गरिरहेका छन् । नेपाल वायुसेवा निगमले पनि काठमाडौं–दिल्ली उडान खुलाउन भन्दै पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको छ । उता भारतीय पक्षले पनि दिल्ली–काठमाडौं उडान खुलाउन माग गर्दै एक साताअगाडि नै नेपाललाई प्रस्ताव पठाइसकेको छ ।

सरकारले अन्य देशसँग १७ भदौदेखि अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरे तापनि भारततर्फ भने हालसम्म खुलाइएको छैन । १ कात्तिकदेखि खुलाउनका लागि भन्दै सिसिएमसीमा प्रस्ताव पठाएको, तर निर्णय नआएको पर्यटन मन्त्रालयका प्रवक्ता भट्टराई बताउँछन् । यता निगमका कार्यकारी अध्यक्ष घिमिरे निगम दिल्ली उडानको तयारी अवस्थामा बसेको बताउँछन् । 

सुझावित समाचार