अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
संसदीय समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरूविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ ।
बुधबार बसेको समिति बैठकले भोलिबाट लागू हुने गरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।
संसदीय समितिकाे कार्यविधि २०७५ को दफ १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।
खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।
यस्तै पूर्वमुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्यान्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको छ ।
त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र बाेत्सुवाना, केन्या, कंगो, तान्जानिया, जाम्भिया, जिम्बाबेलगायतका देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको छ ।