मेस सुधार अभियान : ट्राफिकका अधिकृत र जवानका लागि एउटै मेस

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी अधिकृत र जवानका लागि संयुक्त मेस सञ्चालनमा ल्याएको छ । 

प्रहरीको मेस सुधार अभियानअन्तर्गत महाशाखाले संयुक्त मेस सञ्चालनमा ल्याएको हो । मेसको आइतबार प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उद्घाटन गरे । 

अब ट्राफिक महाशाखामा कार्यरत ट्राफिक प्रहरीका अधिकृतदेखि जवानसम्मले एकैठाउँमा बसेर खाना खानेछन् । 

संयुक्त मेसले प्रहरीभित्र पनि एउटा पारिवारिक भावना र आत्मीयता वृद्धि हुने अपेक्षा गरिएको महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । 

डिआइजी पोखरेलले आइतबार हराएको, चोरी भएको वा फेला परेको सवारीसाधनको अभिलेख व्यवस्थापनका लागि एक सफ्टवेयरसमेत शुभारम्भ गरेका छन् । 

उनले कोरोनाबाट प्रभावित यस्तो विशेष परिस्थितिमा पनि उच्च जोखिममा रहेर अहोरात्र सडकमा खटिरहेको ट्राफिक प्रहरीको उच्च प्रशंसा गरे । 

उनले ट्राफिक प्रहरी नेपाल सरकारको आइकन भएकोले आफ्नो कमी–कमजोरी र गलत व्यवहारहरू परिवर्तन गरी कसैको अगाडि शिर नझुकाई निष्पक्ष भई काम गरेर असल राष्ट्रसेवक बन्न निर्देशन दिए । 

ट्राफिक प्रहरीले १३ लाख ५१ हजार आठ सय ९ रुपैयाँ लागतमा मेस भवन निर्माण गरेको हो । 

डिआइजी पोखरेलले संयुक्त मेस सञ्चालनले २४ सै घन्टा खटिने ट्राफिक प्रहरीको मनोबल थप उच्च हुने र जनतालाई दिने सेवा प्रवाहमा अझ बढी स्तरीयता र प्रभावकारिता हुने विश्वास रहेको बताए । 

कार्यक्रममा एसएसपी ढकालले तालुक कार्यालयबाट भएका नीति निर्देशनलाई अक्षरशः पालना गर्दै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त–दुरुस्त बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्धता गरे ।

सुझावित समाचार