सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

सशस्त्र द्वन्द्वका क्रममा बन्द भएका सुदूरपश्चिमका पहाडी जिल्लाका तीनवटा विमानस्थलको उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै निर्माण सम्पन्न भएका डोटी, बझाङ र बैतडी विमानस्थलको शनिबार उद्घाटन गरेका हुन् ।

उडान सञ्चालनको तयारीसँगै उद्घाटन उडान गरिएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढथापाले बताए । धनगढीबाट बझाङ, डोटी, साँफे र बैतडीमा समिट एयरलाइन्सले उडान गर्ने इच्छा देखाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

समिटले तीन सातायता सातामा एक दिन धनगढीबाट बाजुराको कोल्टी विमानस्थलमा उडान गरिरहेको छ । नेपालगन्ज–बाजुरा–धनगढी र धनगढी–बाजुरा–नेपालगन्जसम्म चार्टर उडानसमेत समिटले गरेको छ । ‘समिटले धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा पनि उडान गर्ने भनेको छ ।

सम्भवतः पहाडी जिल्लामा पनि छिट्टै हवाई सेवा सुरु हुन्छ,’ बुढथापाले भने । धनगढीबाट पहाडी जिल्लामा उडान सुरु भएको सुविधासँगै यसले पर्यटन विकासमा पनि टेवा पुर्याउने आशा गरिएको छ । 

सुझावित समाचार