अवकाशको २२ दिनअघि राजीनामाको बदला मुख्यसचिवलाई राजदूत पद उपहार

डा. युवराज खतिवडालाई दुई सातामा दुई नियुक्ति

शुक्रबार, १५ असोज, २०७७
डिजिटल संस्करण

सरकारले २५ औं मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको छ । तर, बैरागीलाई नियुक्त गर्दा विधि मिचिएकाले यसले निजामती प्रशासनलाई थप कमजोर बनाउने जोखिम रहेको कर्मचारी तथा प्रशासनविद्हरूको चिन्ता छ । 

आफ्नो अनूकुलको मुख्य सचिव बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी प्रशासनको विधि–पद्धतिमै हस्तक्षेप गरेका छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले रेग्मीको राजीनामा स्वीकृत भएको र राजदूतमा नियुक्त गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । 

अवकाशको २२ दिनअघि मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाई बेलायतको राजदूत पद दिएर बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको छ । प्रधानमन्त्री ओली आफु निकट रहेका बैरागीलाई मुख्यसचिव बनाउन रेग्मीलाई राजीनामा दिन लगाएका हुन् । उनलाई मुख्यसचिव बनाउनकै लागि रेग्मीलाई राजदूत पद दिएर फकाई राजीनामा दिन लगाइएको हो । यसले नियमित प्रक्रियाअनुसार मुख्यसचिवको दाबीमा रहेका सचिवहरूमाथि अन्याय भएको छ । उनले राजीनामा नदिंदा बैरागीले सचिवको पाँच वर्षे पदावधिका कारण २२ असोजमा अनिवार्य अवकाश पाउँथे । 

‘निजामतीको सर्वाेच्च पदको नियुक्तिमै अस्वस्थ चलखेल भयो,’ एक उच्च प्रशासन भन्छन्,‘एक त यसरी नियुक्त भएका मुख्यसचिवले राम्रोसँग काम गर्न सक्दैन, अर्काेतर्फ प्रशासनमा राजनीतिक चलखेल झन् बढाउने जोखिम भएको छ ।’ व्यक्तिगत स्वार्थका लागि प्रशासनमा गलत नजिर बसाउन सहयोग गरेकोमा यसको दोष रेग्मीमाथि समेत लागेको छ । यद्यपी मुख्यसचिव नियुक्त भएका बैरागी तुलनात्मक रुपमा राम्रा प्रशासक मानिन्छन् । परराष्ट्र सेवाको मात्र अनुभव भएकाले सिंगो निजामती प्रशासनको नेतृत्व हाक्न उनमा अनुभवको कमी हुनसक्ने कर्मचारीहरू बताउँछन् । 

पूर्व मुख्यसचिव डा. विमल कोइराला मुख्यसचिवको विधि गलत भएको र यसले निजामती प्रशासनमा नकारात्मक असर पार्न सक्ने बताए । ‘मुख्यसचिव नियुक्तिको बिधि ठिक भएन यद्यपी मुख्यसचिव नियुक्त गरिएका व्यक्ति ठिक छन्,’ उनले भने,‘विधि ठिक नहुँदा निजामती प्रशासनमा कर्मचारीको करिअर अनुमानयोग्य नहुने अवस्था आएको छ, यसले प्रशासन कमजोर बनाउने जोखिम छ ।’ 

त्यसो त रेग्मीले आफु मुख्यसचिव हुन पनि तीन वर्षअघि जालझेल गरेका थिए । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीलाई आफ्नो अनुकुल हुने गरी राजिनामा दिन लगाई राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्यसचिव बनाएर आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाई मुख्यसचिव भएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई मुख्यसचिवमा नियुक्त गरेको थियो । प्रधानमन्त्री ओलीको ‘यसम्यान’ बनेकाले पनि अहिले उनले राजदूत पाएको पाउन सफल भएका छन् । 

मुख्यसचिवबाट ‘सहसचिव’ को हैसियतमा 

निजामती प्रशासनको मुख्यसचिव पदबाट रेग्मी सहसचिव पदस्थापन हुने बेलायतको राजदूत पदमा नियुक्त भएका छन् । यसले मुख्यसचिव पदकै गरिमा घटाएको कर्मचारीहरू बताउँछन् । राजदूतले परराष्ट्रको सचिवलाई नियमित ब्रिफिङ गर्नुपर्छ, जसअनुसार रेग्मी अब आफु भन्दा तल्लो तहको कर्मचारीको मातहतमा बसेर काम गर्नेछन् । 

विगतमा पनि केही मुख्यसचिवले यस्तै पदलोलुपता देखाएका थिए । डा.सोमलाल सुवेदी मुख्यसचिवबाट राजिनामा दिएर एसियाली विकास बैंकमा जागिर खान गएका थिए । डा.भोजराज घिमिरे मुख्यसचिवबाट अवकाश पाएपछि क्यानाडाको राजदूत भएका थिए । अर्का पूर्व मुख्यसचिव लिलामणि पौडेल चीनका राजदूत भएका थिए, चीनको राजदूतलाई भने मन्त्री पद सरहको मान र सुविधा दिने निर्णय सरकारले गरेको थियो । 

See More On

सुझावित समाचार