सामाजिक सुरक्षा कोषले कोरोना उपचार खर्च व्यहोर्ने, निधन भएमा आश्रित परिवारलाई पनि सुविधा

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोरोना संक्रमण देखिएमा उनीहरूको उपचार खर्च कोषले नै व्यहोर्ने विवेक पन्थीले जानकारी दिएका छन् । त्यस्तै कोषमा आबद्ध श्रमिकको मृत्यु कोरोनाका कारणले भएमा पनि आश्रित परिवारले सुविधा पाउनेछन् । कोषले सञ्चालन गरेको सुरक्षा योजनाहरू औषधि–उपचार, स्वास्थ्य सुरक्षा तथा आश्रित परिवार सुरक्षा योजनाअनुसार कोभिड– १९  संक्रमणको उपचार र श्रमिकको मृत्यु भएमा आश्रित परिवारले पाउने सुविधा  उपलब्ध गराउनेछ । योगदानमा आधारित कोषले श्रमिकका लागि चारवटा विभिन्न खालका सुविधा उपलब्ध गराएको छ । जसमध्ये कोरोना संक्रमण भएमा वा संक्रमितको मृत्यु भएका श्रमिकले तीनवटा सुविधा प्राप्त गर्नेछन् ।  तर, हालसम्म कुनै पनि श्रमिकले कोराेना उपचारका लागि माग नगरेको कोषका प्रवक्ता पन्थीले बताए । उनका अनुसार तीनजना संक्रमित श्रमिकले सम्पर्क भने गरेका छन् । 

कसरी पाउँछन् कोरोना उपचार सुविधा ?

सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि–उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत श्रमिकले यस्तो सुविधा प्राप्त गर्न सक्छन् । यो योजनाअनुसार श्रमिकले कुनै पनि रोग लागेर घरमै बसेर उपचार गरेमा वार्षिक २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी पाउनेछन् । त्यस्तै, अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा वार्षिक एक लाख रुपैयाँ वा कुल दाबी रकमको ८० प्रतिशत कोषले व्यहोर्ने उल्लेख छ । बाँकी २० प्रतिशत भने योगदानकर्ता स्वयंले या अन्य कुनै विकल्प रोज्न पाउनेछन् । अर्थात् सामाजिक सुरक्षा कोषमा आबद्ध  श्रमिकले कोरोना संक्रमण भएर घरमा नै उपचार गरेमा पनि २५ हजार रुपैयाँसम्म भुक्तानी पाउनेछन् । संक्रमण भएर अस्पतालमा उपचार गर्दा अधिकतम एक लाख रुपैयाँसम्म औषधि उपचार खर्च पाउनेछन् । यो सुविधा श्रमिकले कोषमा योगदान रकम जम्मा गर्न सुरु गरेको तीन महिना पूरा भएदेखि योगदान गर्न छाडेको तीन महिनासम्म लागू हुनेछ । 

मृत्यु भएमा आश्रित परिवारलाई सुविधा 

सामाजिक सुरक्षा कोषको आश्रित परिवार सुरक्षा योजनाअनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका श्रमिकका परिवारले यो सुविधा उपभोग गर्न पाउनेछन् । 

संक्रमणका कारण कोषमा आबद्ध श्रमिकको निधन भएमा मृतकको पति वा पत्नीले श्रमिकले खाइपाई आएको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम जीवित रहेसम्म निवृत्तिभरण पाउनेछन् । त्यस्तै मृतक श्रमिकको छोरी–छोराले २१ एक वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा शैक्षिक वृत्तिबापत पाउनेछन् । एकभन्दा बढी सन्तती भएमा ६० प्रतिशत रकम दामासाहीले पाउनेछन् । तर, शारीरिक वा मानसिक रूपमा अशक्त भएका बच्चाको हकमा उमेरको हद लाग्नेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोरा–छोरीले पनि अध्ययन खर्च पाउनेछन् । मृतक श्रमिक अविवाहित भएमा एकाघरका बुबाआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत जीवनभरि मासिक निवृत्तिभरण सुविधा पाउनेछन् । त्यस्तै, मृतकको हकवालालाई २५ हजार रुपैयाँ अन्तिम संस्कार खर्चबापत प्रदान गरिन्छ ।

निवृत्तिभरण र अवकाश सुविधा पनि पाउने

कोषमा आबद्ध श्रमिकको कोराना संक्रमणकै कारण मृत्यु भएमा पतिपत्नीले एकमुष्ट रकम पाउनेछन् । मृतक श्रमिकले हालसम्म कोषमा जम्मा गरेको रकम, त्यसमा आउने ब्याज र कोषले प्राप्त गरेको प्रतिफल एकमुष्ट रूपमा पाउनेछन् । तर, दम्पतीले निवृत्तिभरण सुविधा भने पाउने छैनन् । 

कोषले गरेको व्यवस्थाअनुसार ०७६ असार अगावै कोषमा आबद्ध भएका श्रमिकले निवृत्तिभरण र अवकाश योजनामध्ये एउटा योजना छनाेट गर्नुपर्नेछ । तर, २०७६ साउनपछि कोषमा आबद्ध श्रमिकले १५ वर्षसम्म कोषमा रकम जम्मा गरेपछि स्वतः निवृत्तिभरण योजना सुविधा पाउँछन् । तर, १५ वर्ष योगदान नगरेको भए पनि ६० वर्ष पुगेको अवस्थामा श्रमिकले एकमुष्ठ रकम पाउनेछन् । निवृत्तिभरण सुविधाको लागि श्रमिकले कोषमा १५ वर्ष योगदान गरेको र ६० वर्ष पुगेको हुनुपर्नेछ । तर, योगदान गरेको १५ वर्ष नहुँदै मृत्यु भएमा मृतकको दम्पतीले पाउनुपर्ने निवृत्तिभरणको रकम मासिक ५० प्रतिशत पाउनेछन् । 

एक लाख ७३ हजार श्रमिक जोडिए कोषमा

सामाजिक सुरक्षा कोषको तथ्यांकअनुसार हालसम्म कोषमा एक लाख ७३ हजार चार सय ६० श्रमिक आबद्ध भएका छन् । जसमध्ये प्रदेश एकका १७ हजार चार सय २५, प्रदेश नम्बर दुईका १२ हजार तीन सय ५९, बागमती प्रदेशका एक लाख, गण्डकी प्रदेशमा ६ हजार सात सय ५३, प्रदेश नम्बर ५ मा पाँच हजार पाँच सय २८, कर्णाली प्रदेशमा चार सय ३३ र सुदूरपश्चिम प्रदेशमा ६ सय २८ श्रमिक कोषमा आबद्ध भएका छन् । त्यस्तै हालसम्म १२ हजार ६ सय ७५ रोजगारदाता कोषमा आबद्ध भएका छन् । कोषले हालसम्म एक अर्ब ७५ करोड योगदान रकम संकलन गरेको छ भने ८५ लाख ३६ हजार दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार सुविधाअन्तर्गत तीन सय ५० वटा दाबीको भुक्तानी गरेको छ । दुर्घटना तथा अशक्तताबापत २६, आश्रिमत परिवार सुरक्षाबापत नाै र उपदान दाबीबापत १९ वटाको भुक्तानी गरेको छ । 

एक लाखसम्म औषधि–उपचार खर्च पाउने : विवेक पन्थी, प्रवक्ता, सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोरोना संक्रमण भएमा पिसिआर परीक्षणदेखि उपचार खर्च कोषले दाबी भुक्तानी गर्छ । उपचारको लागि श्रमिक जुनसुकै अस्पताल जान सक्नेछन् । सरकारी वा निजी जुनसुकै अस्पतालको बिललाई कोषले भुक्तानी गर्छ । दाबीका लागि श्रमिकले कोषको वेबसाइटमा भएको फारम भरी इमेलबाट नै पनि पठाउन सक्नेछन् । आफैँ आएर वा कुरियरमार्फत पनि कोषमा कागजपत्र पेस गर्न सकिनेछ । कोषमा स्वास्थ्यसम्बन्धी टिम छ । सो टिमले कागजपत्रको मूल्यांकन गरेपछि श्रमिकको खातामा नै रकम जम्मा गरिनेछ । उपचार खर्चबापत श्रमिकले एक लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । 

सुझावित समाचार