३६,६७२ जना कोरोनामुक्त भए

अहिलेसम्म ५१,९१९ जना संक्रमित भएकोमा १४,९२५ जना उपचाररत छन्, ३२२ को मृत्यु

शनिबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

नेपालमा परीक्षण प्रति १० लाखमा २८ हजार मात्रै, रुवान्डामा प्रति १० लाखमा ३४ हजार, भारतमा ३९ हजार, क्युवामा ४१ हजार, इराकमा ४२ हजार, माल्दिभ्समा २ लाख ३५ हजार, कतारमा दुई लाख ४२ हजार र युएईमा ८ लाख परीक्षण

....................

नेपालमा कोभिड तीव्र रूपमा फैलिएको छ, निको हुनेको संख्या पनि उल्लेखनीय छ । शुक्रबारसम्म संक्रमित भएका ५१ हजार नौ सय १९ मध्ये ३६ हजार ६ सय ७२ जना भाइरसमुक्त भएका छन् । अहिले १४ हजार नौ सय २५ जना उपचारको क्रममा छन् । तीन सय २२ को मृत्यु भएको छ । 

नेपालमा प्रति १० लाखमा मृत्युदर ११ छ । मृत्युदर बंगलादेशमा २८, पाकिस्तानमा २९, अफगानिस्तानमा ३६, भारतमा ५६ र माल्दिभ्समा ५७ छ । श्रीलंकामा भने मृत्युदर प्रति १० लाख शून्य दशमलव ६ मात्रै छ । 

अमेरिकामा संक्रमितको संख्या धेरै मात्र छैन, मृत्युदर पनि उच्च छ । जनसंख्याको हिसाबमा प्रति १० लाखमा अमेरिकामा पाँच सय ९४ जनाको मृत्यु भाइरस संक्रमणका कारण भएको छ । त्यस्तै, इटालीमा प्रति १० लाखमा मृत्युदर पाँच सय ८९ छ । तर, ब्राजिलमा मृत्युदर अमेरिका र इटालीभन्दा पनि धेरै छ । त्यहाँ प्रति १० लाखमा ६ सय १० को मृत्यु भएको छ । 

नेपालमा अहिलेसम्म आठ लाख २१ हजारको परीक्षण भएको छ, यो भनेको प्रति १० लाख जनसंख्यामा २८ हजार परीक्षण भएको छ । छिमेकी भारतमा प्रति १० लाखमा ३९ हजारको परीक्षण भएको छ । 

दक्षिण एसियामा सबैभन्दा धेरै परीक्षण माल्दिभ्सले गरेको छ । पाँच लाख जनसंख्या भएको माल्दिभ्समा एक लाख २७ हजारको परीक्षण भएको छ । यो संख्या प्रति १० लाखमा हिसाब गर्दा दुई लाख ३५ हजार हुन्छ । त्यस्तै, भुटानले पनि प्रति १० लाखमा एक लाख ४४ हजारका दरले परीक्षण गरेको छ । भुटानमा कुल जनसंख्या सात लाख ७३ हजार छ । 

पाकिस्तानमा प्रति १० लाखमा १२ हजार नौ सय, श्रीलंकामा ११ हजार ६ सय, बंगलादेशमा १० हजार दुई सय र अफगानिस्तानमा दुई हजार सात सयको परीक्षण भएको छ । 

परीक्षणमा खाडीको देश युएई अग्रपंक्तिमा छ । उसले प्रति १० लाखमा आठ लाख र बहराइनले सात लाखको परीक्षण गरेका छन् । त्यस्तै, युरोपमा डेनमार्क अगाडि छ । डेनमार्कले प्रति १० लाखमा चार लाख ९७ हजार, इटालीले एक लाख ५९ हजार र नेदरल्यान्डले एक लाख ६ हजारको परीक्षण गरेका छन् । 

अमेरिकाले प्रति १० लाखमा दुई लाख ७२ हजार, रसियाले दुई लाख ७३ हजार, चीनले एक लाख ११ हजारको परीक्षण गरेका छन् । 

अफ्रिकी देशमा रुवाण्डाले प्रति १० लाख जनसंख्यामा ३४ हजार नौ सय नौ, जिम्बाबेले १० हजार दुई सय र इथियोपियाले नौ हजार सात सय परीक्षण गरेका छन् ।

कोरोना संक्रमण उपत्यकाकेन्द्रित

कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकाकेन्द्रित भएको छ । यसअघि संक्रमण उच्च रहेको प्रदेश २ र प्रदेश ५ का जिल्लामा घट्दै गएको भए पनि उपत्यकामा भने बढ्दै गएको छ । शुक्रबार देशभर देखिएका संक्रमितमध्ये ४७ प्रतिशतभन्दा बढी उपत्यकामा पुष्टि भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर एक हजार चार सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ६ सय ९६ जना काठमाडौं उपत्यकाकै छन् । काठमाडौंमा ६ सय २०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार सात सय आठ पुगेको छ । काठमाडौंमा आठ हजार सात सय २६, ललितपुरमा एक हजार ९२ र भक्तपुरमा आठ सय ९० जनालाई संक्रमण देखिएको छ । देशभर एक सय ७० जनाको आइसियूमा र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनीहरूमध्ये उपत्यकामा ९४ जना आइसियू र २२ जना भेन्टिलेटरमा छन् । 

अहिलेसम्म नेपालमा ५१ हजार नौ सय १९ जनालाई संक्रमण देखिएको छ । त्यसमध्ये ३६ हजार ६ सय ७२ जना निको भएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । लक्षण नभएका ६ हजार ६ सय ३४ जना घरमा बसेका छन् भने लक्षण भएका आठ हजार दुई सय ९१ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा कोरोनाबाट पाँचजनाको मृत्यु भएको छ । संक्रमण बढ्दै गएका वेला विगत चार दिनदेखि मृत्युदर बढेको छैन । शुक्रबार मृत्यु पुष्टि भएकामध्ये काठमाडौं, मोरङ, महोत्तरी, धनुषा र नवलपरासीका एक–एकजना छन् ।

सक्रिय संक्रमित कर्णालीमा न्यून, बागमतीमा उच्च

प्रदेशअनुसार सक्रिय कोरोना संक्रमित कर्णाली प्रदेशमा सबैभन्दा कम रहेका छन् । कर्णालीमा दुई सय ५३ संस्थागत आइसोलेसनमा र ९० जना घरमा बसिरहेका छन् । बागमती प्रदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् । बागमतीमा चार हजार आठ सय १० जना संस्थागत आइसोलेसनमा र दुई हजार पाँच सय एकजना घरमा बसिरहेका छन् । 

त्यस्तै, प्रदेश ५ मा एक हजार एक सय दुई संस्थागत आइसोलेसनमा र ६ सय ७८ जना घरमा छन् । प्रदेश २ मा दुई हजार एक सय ४५ जना घरमा र संस्थागत आइसोलेसनमा चार सय एकजना मात्रै छन् । गण्डकी प्रदेशमा संस्थागत आइसोलेसनमा नौ सय ६२ जना र घरमा एक सय, प्रदेश १ मा घरमा नौ सय ३७ र संस्थागत आइसोलेसनमा चार सय १९ जना छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पाँच सय ४४ जना संस्थागत आइसोलेसनमा र एक सय ८३ जना घरमा बसेका छन् ।

See More On

सुझावित समाचार