धान फल्ने खेतमा किबीखेती

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण
धान फल्ने खेतमा किबीखेती

आफूले लगाएका किबीले उत्पादन दिएको फल देखाउँदै कृषक भोलानाथ रिजाल । तस्बिर : नयाँ पत्रिका

पाँच वर्षपहिले रोजगारीको सिलसिलामा साउदीमा रहँदा पहिलोपटक किबीको स्वाद चाखेका भोलानाथ रिजाललाई किबीको रसिलो स्वादले मनै लोभ्यायो । यसको बारेमा उनले त्यहीँ रहँदा राम्रोसँग बुझ्ने मौका पाए । बाग्लुङ नगरपालिका–१३ पैयुँपाटा, काभ्रेडाँडाका रिजाललाई गाउँ फर्केपछि व्यावसायिक रूपमा नै किबीखेती गर्ने सोच पलायो । रिजालले घरपरिवारसँग सल्लाह गरेर धान फल्ने खेतमा किबीखेती गर्ने निधो गरे । छोरा महेन्द्रले बाबुको चाहनाअनुरूप दैलेखबाट किबीका बिरुवा खोजेर ल्याए । बाबुछोरा नै मिलेर ६ मुरी धान फल्ने खेतमा व्यावसायिक रूपमा किबी खेतीको सुरुवात गरे ।

५ रोपनी खेतमा ८५ वटा किबीका बिरुवा 
प्रतिबिरुवा ४ सय रुपैयाँका दरले खरिद गरेर दुई वर्षपहिले नै नर्सरी गरेका बिरुवा ल्याएको हुँदा रोपेको ३ वर्षमा नै किबीले उत्पादन दिन सुरु गर्यो । अहिले उनको खेतमा लटरम्म फल लागेका छन् । रिजालले भने, ‘धान रोपेको भए दुःखले ५–६ मुरी फल्थ्यो, यसलाई धेरै गोडमेल गर्नुपर्ने पनि रहेनछ । सिम खेत, चिसो ठाउँ भएका कारण बिरुवा रोपेको दुई वर्षमा नै उत्पादन दिन सुरु गर्यो ।’ अघिल्लो वर्ष असिनाका कारण राम्रो उत्पादन हुन नसकेर ८० केजी मात्र उत्पादन भएको थियो । यस वर्ष ३ क्विन्टलभन्दा बढी उत्पादन हुने अपेक्षा राखेको रिजालले बताए । वार्षिक ६ क्विन्टल किबी उत्पादन र ७ लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ ।

किबीसँगै कुखुरा र तरकारी पनि उत्पादन

रिजाल कृषि तरकारी तथा फलफूल फर्म नै दर्ता गरेर व्यावसायिक रूपमा लागेका उनले किबीका साथमा तरकारी र कुखुरापालनसमेत गरेका छन् । तरकारी तथा फलफूल व्यवसाय गर्नका निम्ति छोराले ठूलो साथ दिएको उनी बताउँछन् । रिजालले भने, ‘हाइड्रोको जागिर छोडेर व्यावसायिक रूपमा किबी र तरकारी खेती गर्ने भनेर छोरा आएको थियो । मलाई व्यावसायिक बनाउने छोराको ठूलो हात छ ।’ पछि हाइड्रोसम्बन्धी नै विदेशमा राम्रो अवसर आएको हुँदा छोरा साउदी अरब गए पनि आफू फलफूल, तरकारी खेती र कुखुरापालनमै रमाएको उनले बताए । 

कृषि ज्ञानकेन्द्रबाट ५० प्रतिशत अनुदान

रिजालले किबी खेतीको विस्तार व्यवस्थापनका निम्ति कृषि ज्ञानकेन्द्रबाट ५ लाख रुपैयाँ अनुदान पाएका थिए । ५० प्रतिशत अनुदानबाट आएको २ लाख ५० हजार रुपैयाँले उनले तारजाली व्यवस्थापन गर्नुका साथै फलामे डन्डी थप गरेको बताए । उनले आगामी दिनमा पनि अनुदान प्राप्त भएमा थप क्षेत्रमा किबीको विस्तार गर्ने बताए ।

उत्पादित किबी स्थानीय घरगाउँसँगै बाग्लुङ, पोखरासम्म पुग्ने गरेको छ । किबी खेतीले राम्रो उत्पादन दिन सुरु भएसँगै यस क्षेत्रमा अन्य किसानहरूलाई पनि यसले आकर्षित गरेको बाग्लुङ नगरपालिका–१३ पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । यसको प्रवर्द्धन र व्यावसायिक खेती गर्ने किसानका लागि नगरपालिकाबाट उचित अनुदानका लागि पनि पहल थाल्ने पौडेलले बताए ।

सुझावित समाचार