गत वर्ष जुम्लामा २३ करोडभन्दा बढी राजस्व संकलन

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष ०७६/७७ मा २३ करोड २२ लाख ५५ हजार चार सय १ रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्य नै नतोकिएको गत आर्थिक वर्षको असार अन्तिमसम्म २३ करोडभन्दा बढी राजस्व संकलन भएको हो ।

जसमा आयकरतर्फ  पाँच करोड १४ लाख ९२ हजार, आयकर तर्फ ६ करोड ३३ लाख ४४ हजार पाँच सय, आयकर प्रणालीतर्फ तीन करोड ८८ लाख ४७ हजार, परामर्श तथा ठेक्काबापत पाँच करोड ४१ लख ८३ हजार र अन्तशुल्कबापत ५१ लख ४७ हजार ५ सय गरी अन्य विभिन्न २३ शीर्षकबाट वर्षभरी २३ करोड २२ लाखभन्दा बढी राजस्व संकलन भएको कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । उनले जुम्लाको कर प्रणाली सुधार गर्दै आमनागरिकलाई करको दायरामा ल्याउन आवश्यक जनचेतनामूलक कार्यक्रममा जोड दिइने बताए ।

साथै चालू आर्थिक वर्ष ०७७/७८ को साउन महिनामा मात्रै साढे चार करोड राजस्व संकलन भएको छ । चालू आवको साउन महिनामा तीन करोड २१ लाख राजस्व संकलनको लक्ष्य राखेपछि करिब डेढ करोड राजस्व बढी संकलन भएको छ । कर संकलनका २३ शीर्षकबाट साढे चार करोड राजस्व संकलन गरिएको हो ।

तीन करोड २१ लाखको लक्ष्यमा ४ करोड ४० लाख राजस्व उठ्दा एक करोड १९ लाख राजस्व लक्ष्यभन्दा बढी संकलन भएको कर अधिकृत थापाको भनाइ छ । कोरोना कहरबीच राजस्व कमै उठ्ने अनुमान गरिएको वेला यस चालू आवमा राजस्व संकलनको अवस्था निकै सन्तोषजनक रहेको छ । 

सुझावित समाचार