सुकुम्बासी दलितको उपचारमा ११ लाखको बिल : तिर्न नसक्दा अस्पतालले शव दिएन, परिवारले दाहसंस्कार गर्न पाएन

सोमबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एउटा सुकुम्बासी दलित परिवार आफन्तको शव दाहसंस्कार गर्नबाट वञ्चित भएको छ । उपचारकै क्रममा मृत्यु भएका सप्तरी महुली गाउँपालिका– ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्की अछामीको शव विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा छ । ६१ वर्षकी सीता श्रीमान्को मृत्युपछि बेहोस छिन् । 

अस्पताल प्रशासन र फार्मेसीले अछामीको उपचारमा ११ लाखको बिल उठाएका छन् । र, बिल तिर्न नसकेपछि अस्पताल प्रशासनले शव उठाउन दिएको छैन् । शव लैजान नपाएपछि परिवार आफन्तको दाहसंस्कार गर्नबाट वञ्चित भएको छ । उनको १९ भदौमा अस्पतालमा मृत्यु भएको थियो । बिल तिर्न नसकेपछि अस्पतालले दाहसंस्कारका लागि शव उठाउन नदिएको जेठा छोरा नवीनले बताए । 

उच्च रक्तचापले थलिएका सनमनको ५ चैतदेखि नोबेल अस्पतालमा उपचार हुँदै आएको थियो । उनलाई २५ दिन आइसियू र चार दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारबापत अस्पताल प्रशासनको पाँच र औषधिको ६ लाख बिल उठेको छोरा नवीनले बताए । 

तत्काल बिल तिर्ने कुनै उपाय नभएकाले शव उठाउनका लागि परिवारले अस्पताल प्रशासनसँग हारगुहार गरेको छ । तर, अस्पताल प्रशासनले केही पुनर्विचार गरेको छैन । ‘बुबाको शव दिनुस् भनेर रोइकराइ गरिरहेको छु, तर अस्पताल प्रशासनले बिल नतिरी शव दिन मानेको छैन । बुबाको दाहसंस्कार र काजकिरिया सबै रोकियो,’ नवीनले भने, ‘बिल तिर्न एक पैसा छैन ।’

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले तिर्नुपर्ने शुल्क धेरै भएकाले प्रशासनले निर्णय गर्न सक्ने अवस्था नभएको बताए । दाहालले भने, ‘यसबारे अध्यक्षले मात्र निर्णय दिन सक्नुहुन्छ । हाम्री केही गर्न सक्दैनौँ ।’ 

मृतकको जायजेथाबाट असुलउपर गर्न सकिन्छ कि भनेर अस्पताल र फार्मेसीका प्रतिनिधि महुलीस्थित उनको घरमा समेत पुगेका थिए । नवीनका अनुसार सुकुम्बासी परिवार भएकाले असुलउपर गर्न सक्ने अवस्था नभएपछि उनीहरू चुपचाप फर्किएका थिए । फर्केपछि अस्पताल प्रशासनले पैसा तिरे मात्र शव दिने भन्दै मृतकको परिवारमाथि दबाब दिइरहेको छ । 

मृतक सनमनको परिवार सुकुम्बासी बस्तीमा बस्छ, दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउँछ । मृतकका जेठा छोरा २७ वर्षीय नवीन र कान्छा छोरा २४ वर्षीय कुमार दुवै मिस्त्री काम गर्छन् । आर्थिक अभावकै कारण एक बहिनीको बिहे हुन सकेको छैन । नवीनले भने, ‘उपचार गर्दा–गर्दा ऋण मात्रै तीन लाख पुग्यो । अरू हामीसँग एक पैसा छैन, जायजेथा पनि छैन । कसरी ११ लाखको बिल तिर्नु ?’ 

तीन दिनदेखि अस्पतालबाट बुबाको शव उठाउन नपाएका छोरा नवीन थाकिसकेका छन् । उनको अस्पताल प्रशासनसँग आग्रह छ, ‘बरु परिवारका सदस्यलाई जाकडी राख्नुस्, बुबाको शव लैजान्छौँ । दाहसंस्कार र काजकिरिया सक्छाँै । काम गरेर खाने परिवारलाई धेरै दुःख नदिनुस् ।’

सुझावित समाचार