‘सके दिएर जाऊ, चाहिए लिएर जाऊ’ भन्ने नारासहित सिराहाको लहान, गोलबजारलगायत बजार क्षेत्रमा विपन्न नागरिकका लागि निःशुल्क खाना र खाद्य सामग्री वितरण गर्ने गरी फुड बैंक स्थापना भएको छ ।
लकडाउन र निषेधाज्ञाले ज्याला–मजदुरी बन्द हुँदा गरिब विपन्न समुदायको चुलो बल्न छाडेको छ । यही कारण उनीहरूलाई भाेकै बस्नु नपरोस् भनेर स्थानीय परोपकार युवा क्लब, लहान वडा नम्बर ७ कार्यालयको आयोजनामा फुड बैंक सञ्चालन भएको हो । लहान राम मन्दिरअगाडि बुधबारदेखि सुरु भएको फुड बैंकमा अम्बिका अफसेट प्रेस र स्माइली रेस्टुरेन्ट एन्ड बारले सहयोग गरिरहेका छन् । फुड बैंकको उद्घाटन लहानका नगरप्रमुख मुनि साहले गरेका छन् ।
कोरोना संक्रमणको जोेखिम न्यूनीकरणका लागि स्थानीय प्रशासनले २७ भदौ मध्यरातसम्मका लागि निषेधाज्ञा थपेको छ । यो अवधिभर दैनिक एक सयजनालाई खाना खुवाइने योजना रहेको लहान– ७ का वडाध्यक्ष रोशन गुप्ताले बताए । ‘हरेक दिन बिहान साढे १० देखि १२ बजेसम्म र साँझ साढे ६ देखि साढे ७ बजेसम्म खाना खुवाउँछौँ,’ वडाध्यक्ष गुप्ताले भने । फुड बैंकका लागि मनकारीहरूले नगद र खाद्यान्न सहयोग गरिरहेको क्लबका अध्यक्ष विनोदकुमार यादवले बताए ।
गोलबजार र सिराहामा खाद्यसामग्री वितरण
गोलबजार क्षेत्रका युवाले सिराहा युथ एक्टिभिस्टको पहलमा मंगलबारदेखि फुड बैंकमार्फत विपन्नलाई खाद्य सामग्री बाँड्न थालेका छन् । एक्टिभिस्टका अगुवा वशिष्ठकुमार झाका अनुसार हरेक दिन बिहान ११ बजेखि एक घन्टा गोलबजार–६ स्थित एएफसी होटेलअगाडि चामल, तेल, नुन, दाल, सोयाबिन, भुजा (मुरही) र मास्क वितरण भइरहेको छ ।
सिराहा नगरपालिका क्षेत्रमा सिराहा युनाइटेटमा आबद्ध स्थानीय युवाले पनि फुड बैंक सञ्चालन गरी खाद्य सामग्री बाँड्न थालेका छन् । स्थानीयले दिएको सहयोग जम्मा गरी नगर क्षेत्रका गरिब विपन्नलाई खाद्य सामग्री बाँड्न थालेको हो ।