साझेदारीको आवरणमा अफ्रिकालाई परनिर्भर बनाउँदै रुस

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • रुसी प्रभावले सामान्य अफ्रिकी जनतालाई वाचा गरिएको समृद्धि र सुरक्षा प्रदान गर्नुको सट्टा मस्को र उसका सहयोगी शासकको स्वार्थ पूरा गरेको छ

यस साता मस्कोले तेस्रो रुस–अफ्रिका शिखर सम्मेलन आयोजना गर्दै छ । सम्मेलनमा अफ्रिकी नेताहरू सहभागी हुँदै छन्, किनकि राष्ट्रपति भ्लादिमिर पुटिन अफ्रिकी महादेशभरि रुसको आर्थिक, सैन्य र राजनीतिक पहुँच विस्तार गर्न चाहन्छन् । तर, रुसको बढ्दो प्रभावले सामान्य अफ्रिकी जनतालाई वाचा गरिएको समृद्धि र सुरक्षा प्रदान गर्नुको सट्टा मस्कोको स्वार्थ अघि बढाउन र उसका सहयोगी शासकलाई टिकाउनमा धेरै ठुलो भूमिका खेलेको छ ।

बिहीबार हुने पूर्ण सत्रको अध्यक्षता अफ्रिकी युनियनका वर्तमान अध्यक्ष तथा बुरुन्डीका राष्ट्रपति एभारिस्टे न्दायिसिमियेसँगै राष्ट्रपति पुटिनले संयुक्त रूपमा गर्ने कार्यक्रम छ । शिखर सम्मेलनसँगै दुईदिने आर्थिक तथा मानवीय बैठक पनि आयोजना हुनेछ, जसमा लगानी, औद्योगिक उत्पादन, खाद्य सुरक्षा, ऊर्जा, प्रविधि र भुक्तानी प्रणालीका विषयमा छलफल गरिनेछ । आयोजकहरूले कार्यक्रमको केन्द्रबिन्दुमा व्यापार र लगानीलाई राखेका छन् । सन् २०२७–२०२९ का लागि तयार पारिएको नयाँ योजनाले उनीहरूले ‘आपसी लाभदायी सहयोग’ भनेर परिभाषित गरेको अवधारणालाई अघि बढाउने अपेक्षा गरिएको छ ।

अगस्ट २० मा रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले मस्को शिखर सम्मेलनमा अन्तरसरकारी सम्झौता र व्यावसायिक सम्झौताको अर्को ठुलो शृंखलाका लागि योजना प्रस्तुत गरेकी थिइन् । सन् २०१९ अक्टोबरमा सोचीमा भएको भेलामा ९२ वटा सम्झौता भएका थिए । त्यतिवेला पुटिनले वार्षिक व्यापारलाई दोब्बर बनाएर ४० अर्ब डलर पुर्याउने प्रतिबद्धता जनाएका थिए । त्यसको चार वर्षपछि जुलाई २०२३ मा सेन्ट पिटर्सबर्गमा भएको शिखर सम्मेलनमा थप १६१ सम्झौता भए र २०२३–२०२६ को कार्ययोजना तयार गरियो । तर, आर्थिक नतिजा मस्कोले गरेका वाचाअनुरूप देखिएका छैनन् । २०२३–२०२६ को योजना समापनको नजिक पुग्दै गर्दा रुसकै व्यापार तथ्यांकले अफ्रिकामा आफ्नो लक्ष्य पूरा हुन नसकेको कुरा खुलासा गरेको छ । तथ्यांकअनुसार पुटिनले राखेको ४० अर्ब डलरको लक्ष्यको तुलनामा सन् २०२५ मा अफ्रिकासँगको वस्तु व्यापार केवल २७.१ अर्ब डलरमा सीमित रह्यो ।

सन् २०२६ मा पनि व्यापार असन्तुलन कायमै रह्यो । वर्षको पहिलो आठ महिनामा रुसले अफ्रिकामा १४ अर्ब डलरबराबरका वस्तु निर्यात गर्यो, जबकि सोही अवधिमा उसले अफ्रिकाबाट ३.२ अर्ब डलरबराबरका वस्तु मात्र आयात गर्यो । रुससँग अफ्रिकाको ठुलो व्यापार घाटा हुनुमा कृषिजन्य वस्तुको निर्यात एक प्रमुख कारण हो । सन् २०२६ को पहिलो ६ महिनामा मात्रै रुसले अफ्रिकामा एक करोड २० लाख टन गहुँ पठाएको थियो, जसमा इजिप्ट सबैभन्दा ठुलो ग्राहकका रूपमा चिनियो । यी वस्तुले खाद्य सुरक्षासम्बन्धी वास्तविक आवश्यकता पूरा त गर्छन्, तर गहुँ र मलको निर्यातबाट अफ्रिकाको औद्योगिक विकासमा हुने योगदानभन्दा रुसी उत्पादकलाई नै बढी फाइदा पुग्छ । 

रुसको लगानी रेकर्डले हस्ताक्षर गरिएका सम्झौता र सम्पन्न परियोजनाबिचको ठुलो खाडल उजागर गर्छ । सन् २०१९ शिखर सम्मेलनमा मल उत्पादक उराल्केम र अंगोलाको ग्रुपो ओपियाले २०२३ मा उत्पादन सुरु गर्ने तालिकाअनुसार १.२ अर्ब डलरको अमोनिया र युरिया कम्प्लेक्स निर्माण गर्न सहमत भए । तर, उराल्केमले त्यही वर्ष यो उद्यम त्याग्यो । इजिप्टले प्रगतिको स्पष्ट प्रमाण प्रस्तुत गर्छ, रोसाटोमले एल दाबामा चार आणविक रिएक्टर निर्माण गरिरहेको छ, जहाँ १८ हजारभन्दा बढी इजिप्सेली यसको निर्माणमा कार्यरत छन् । तर, परियोजनालाई ठुलो मात्रामा २५ अर्ब डलरको रुसी ऋणमार्फत वित्त उपलब्ध गराइएको छ, जुन इजिप्टले ब्याजसहित भुक्तानी गर्नुपर्नेछ ।

रुस समर्थित परियोजना अघि बढ्दा पनि सम्झौताका सर्तले नै कसले लाभ पाउने, कसले आर्थिक जोखिम व्यहोर्ने र सार्वजनिक राजस्वको बाँडफाँड कसरी हुने भन्ने कुरा निर्धारण गर्छन् । कंगो गणतन्त्रमा पोइन्ट–नोइर र ब्राजाभिलबिच प्रस्तावित पेट्रोलियम पदार्थको पाइपलाइन परियोजनामा रुसी पक्षले संयुक्त उद्यमको ९० प्रतिशत हिस्सा पाउनेछ भने कंगोको सरकारी तेल कम्पनीले १० प्रतिशत हिस्सा पाउनेछ । यसका साथै, यसमा २५ वर्षको सञ्चालन अधिकार र ढुवानी शुल्कको सुनिश्चितता पनि समावेश छ । अप्रिल महिनामा रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले यस वर्ष डिजाइनको काम सुरु हुने र सन् २०२९ देखि सञ्चालनमा ल्याउने योजना रहेको बताएका थिए । रुसी अधिकारीले यस पाइपलाइनलाई युक्रेनमाथि रुसको पूर्ण आक्रमणपछि पश्चिमा राष्ट्रले लगाएका प्रतिबन्धबाट पेट्रोलियम निर्यातलाई जोगाउने माध्यमका रूपमा पनि व्याख्या गरेका छन् ।

रूसको व्यावसायिक महत्वाकांक्षा बढ्दो सैन्य गतिविधिसँग मिल्दोजुल्दो छन् । ८ अक्टोबरमा स्विडेनको रक्षा अनुसन्धान एजेन्सीले ३९ अफ्रिकी देश संलग्न कम्तीमा ५७ रुसी सैन्य र सुरक्षा सम्झौता पहिचान गर्यो, यद्यपि धेरै व्यवहारमा सीमित छन् । अरूले प्रशिक्षण र सैन्य पूर्वाधारमा पहुँचलाई सहज बनाउँछन् । रुसले सुरुमा क्रेमलिनसँग जोडिएको भाडाको नेटवर्क, वाग्नर समूहमा निर्भर रह्यो । धेरै कारबाही रक्षा मन्त्रालय–नियन्त्रित अफ्रिका कोर्प्समा हस्तान्तरण गर्नुअघि वाग्नर मध्यअफ्रिकी गणतन्त्रमा सक्रिय रह्यो । रुसी कर्मचारीले विशेषगरी माली र मध्य अफ्रिकी गणतन्त्रमा सहयोगी सरकारलाई प्रत्यक्ष लडाइँमा सहयोग, प्रशिक्षण र सुरक्षा प्रदान गर्छन् । तैपनि, मालीले रुसको सैन्य सहयोगको सीमा उजागर गर्छ । नोभेम्बर २०२३ मा वाग्नर लडाकुहरू र माली सेनाले रणनीतिक उत्तरी सहर किडाल कब्जा गरे ।

तर, अप्रिल २०२६ मा पृथक्तावादी विद्रोहीबाट गुमाए । अक्टोबर ६ मा हवाई अभियानले विद्रोहीलाई पछि हट्न प्रेरित गरेपछि रुस समर्थित सेनाले सहर फिर्ता लिए । मस्कोले मालीको क्षेत्र जित्न मद्दत गरेको छ । तर, यसले मालीका लागि स्थायी सुरक्षा प्रदान गर्न असफल भएको छ । सशस्त्र द्वन्द्व स्थान र घटना डेटा परियोजना (आर्म्ड कन्फ्ल्टि लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्ट)का अनुसार मालीको सेना र रुसको अफ्रिका कोर्प्सले अप्रिलदेखि अगस्टसम्म ४९ हवाई आक्रमण गरे, जसमा ८९ नागरिकको मृत्यु भयो । जुलाई १० मा अफ्रिका कोर्प्सका लडाकुले मध्य मालीको मोप्ती क्षेत्रको गाउँ बम्बोरीमा चार बालबालिकासहित नौजनाको हत्या गर्नुका साथै घरमा आगजनी गराएको ह्युमन राइट्स वाचले रिपोर्ट गरेको छ ।

अन्य दुर्व्यवहारमा मे देखि अगस्टसम्म सेवारेको सैन्य अड्डामा माली सैनिक र अफ्रिका कोर्प्सका कर्मचारीले हिरासतमा राखेका गैर–लडाकुलाई कुटपिट, करेन्ट र पानीमा डुबाएका घटना समावेश छन् । विद्रोहीहरू र तिनीहरूलाई पराजित गर्न पठाइएका सेनाबिच फसेका नागरिकका लागि मस्कोको सैन्य सहयोगले थप हिंसा ल्याएको छ र कुनै भरपर्दो सुरक्षा छैन । सोही अवधिमा रुसले यस क्षेत्रका सहयोगी शासकलाई आफ्नो मूल्य प्रमाणित गरेको छ । अगस्ट २९ मा रुसको अफ्रिका कोर्प्सले जनरल अब्दुरहमाने टियानीलाई नाइजरमा विद्रोह दबाउन मद्दत गर्यो । रुसी सेनाले स्थल र हवाई सहयोग प्रदान गर्यो र मस्कोका राजदूतले आफ्नो भूमिका पुष्टि गरे । जुन्टाले सेप्टेम्बर १७ मा पाँचजना निर्वासित आलोचकलाई उनीहरूको राष्ट्रियताबाट पनि वञ्चित गर्यो ।

अलजजिराबाट
 

सुझावित समाचार