स्पेनका यातायातमन्त्रीद्वारा राजीनामा

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

म्याड्रिड/ स्पेनको इतिहासकै सबैभन्दा घातक रेल दुर्घटनामध्ये एक भएको एक साताभन्दा कम समयमा त्यहाँका यातायातमन्त्री ओस्कार पेएन्टेले राजीनामा दिएका छन् । पेएन्टेले आगामी नोभेम्बर २९ मा हुने आम निर्वाचनबाट पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

गत अक्टोबर २८ मा मध्यस्पेनको कास्टिला–ला मान्चा क्षेत्रमा भएको रेल दुर्घटनामा ६९ जनाको ज्यान गयो । यो स्पेनमा एक वर्षभन्दा छोटो समयभित्र भएको दोस्रो रेल दुर्घटना हो । म्याड्रिड–सेभिल खण्डमा चल्ने सरकारी स्वामित्वको ‘रेन्फे’ कम्पनीद्वारा सञ्चालित एक तीव्र गतिको रेल अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनाका वेला रेलको गति प्रतिघण्टा ६० देखि २०० किलोमिटरको बिचमा रहेको अनुमान गरिएको छ । रेलको सुरक्षा प्रत्याभूत गर्न प्रयोग हुने सिग्नलमा आएको खराबीले उक्त दुर्घटना भएको मानिन्छ । यसअघि गत जनवरीमा आन्डालुसियामा तीव्र गतिको रेल लिकबाट खस्दा ४६ जनाको मृत्यु भएको थियो ।

पछिल्लो दुर्घटनापछि म्याड्रिड–सेभिल खण्डमा रेल सेवा कटौती गरिएको छ । रेलवे सुरक्षा निकायले उक्त खण्डको सुरक्षा प्रणालीको समीक्षा गरिरहेको छ भने सरकारले पुरानो सिग्नल प्रणाली त्यागेर ‘युरोपेली रेल ट्राफिक व्यवस्थापन प्रणाली’ लागू गर्ने प्रक्रिया अघि बढाएको छ ।

अन्य सुरक्षा उपायअन्तर्गत ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) प्रविधिको प्रयोग पनि अवलम्बन गरिने बताइएको छ । यसले रेलचालक र नियन्त्रकबिचको संवादको निगरानी गरेर मानवीय त्रुटि कम गर्न मद्दत गर्नेछ । मन्त्री पेएन्टेले यसअघि यस्तो सुरक्षा संयन्त्र लागू गर्ने स्पेन पहिलो मुलुक बन्ने बताएका छन् ।

उता दुर्घटनापीडितका परिवारजनका लागि प्रधानमन्त्री पेड्रो सान्चेजले तीन करोड युरोबराबरको राहत प्याकेज घोषणा गरेका छन् । पीडित परिवारले ७२ हजार १२१ युरो प्रत्यक्ष राहतका रूपमा पाउनेछन् भने सोहीबराबरको रकम अग्रिम क्षतिपूर्तिका रूपमा प्राप्त गर्नेछन् ।

सुझावित समाचार