सम्पादकीय टिप्पणी : प्रेसलाई तर्साउने कुचेष्टा नगर

शनिबार, १४ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- शुक्रबार नयाँ पत्रिकासहितका सञ्चारगृहका समाचारकक्षमा देखिएको राज्यआतंकले राजा ज्ञानेन्द्रको शाही शासनको झल्को दिएको छ ।

साढे तीन महिनाअघि मिडियाका घरअगाडि गाडी तेर्स्याएर स्वतन्त्र प्रेसलाई तर्साउन खोज्ने बहुलठ्ठीपन अहिले समाचारकक्षमै प्रहरी पठाएर पत्रकारलाई धरपकड गर्दै छ ।

यसका पछाडि प्रेसलाई भयभीत र पत्रकारलाई आतंकित बनाउँदै मनोवैज्ञानिक दबाबमा राखेर नागरिकको मुख थुन्न खोज्ने कुत्सित मनसाय देखिन्छ ।

प्रहरीदेखि प्रधानमन्त्री कार्यालयसम्मले यसमा अनभिज्ञता जनाउनु थप सन्देहपूर्ण छ । यो घटनाले राज्यको प्रेसप्रतिको दृष्टिकोण र नियत पनि उदांगो गरेको छ । 

प्रेस सत्ताको प्रशंसक होइन, खबरदारीकर्ता हो । पत्रकारलाई आतंकित बनाएर प्रश्न रोक्न सकिन्छ भन्ने भ्रमबाट सरकार मुक्त हुन जरुरी छ ।

किनभने राणा, पञ्चायतदेखि शाही शासनसम्ममा पनि नेपाली मिडिया निर्भीक भएर लोकको पक्षमा उभिएको छ । अब पनि तर्सिन्न, प्रश्न गर्न छाड्दैन । त्यसैले तर्साउने कुचेष्टा पनि नगर ।

सुझावित समाचार