उदयपुर । उदयपुरको बेलका नगरपालिका– ९, झन्डाचोकमा बोलेरोको ठक्करबाट मर्निङवाकमा निस्किएकी ५६ वर्षीया महिलाको मृत्यु भएको छ । हिजो बुधबार बिहान मदन भण्डारी राजमार्गमा बोलेरोको ठक्करबाट गम्भीर घाइते भएकी रामपुरबजार निवासी लक्ष्मीमाया राईको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) राजन चापागाईंका अनुसार बुधबार बिहान करिब ५:३५ बजे राई मर्निङवाक गरिरहेका वेला को १–०५–००१ ज ००२२ नम्बरको बोलेरोले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि रामपुरस्थित नगर अस्पताल लगिएको थियो। नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा बिहीबार बिहान ८:०९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी चपागाईंले जानकारी दिए ।
दुर्घटनापछि ठक्कर दिएर फरार भएको बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले भोजपुरको आमचोक गाउँपालिका– १ निवासी ३७ वर्षीय चालक प्रेम विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।