काठमाडौं। दसैँका कारण स्थगित भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ।
नियमित रूपमा प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष दसैँका कारण पछि सारिएको हो। दुई दिनसम्म सञ्चालन हुने अभियानमार्फत लक्षित उमेर समूहका बालबालिकालाई आवश्यक औषधि तथा पोषणसम्बन्धी सेवा प्रदान गरिनेछ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने कार्यक्रम छ।
थापाका अनुसार अभियानका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछन्।
बालबालिकामा हुने कुपोषण तथा विभिन्न स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले ०५० सालदेखि नियमित रूपमा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसैगरी, बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम ०५६ सालदेखि सुरु भएको हो।
सरकारले बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्न सञ्चालन गर्दै आएको यस अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई सहभागी गराउन अभिभावकलाई आग्रह गरिएको छ।