जाजरकोट । दसैँको टीकाका दिन गाउँघरमा आफन्तको जमघट, निधारमा रातो टीका र शिरमा जमरासँगै खुसी साटासाट भइरहेको थियो। तर, जाजरकोटको भेरी नगरपालिका– २ का १४ परिवारको दसैँ भने टेन्टभित्रै बित्यो। गत साउन ३० गतेको पहिरोले घरबारविहीन बनाएका परिवारका बालबालिका टेन्टभित्रै गीतको तालमा नाचिरहेका थिए। उनीहरूको नाचगानमा दसैँको खुसी झल्किए पनि त्यसले घरबार गुमाएका परिवारको पीडा भने लुकाउन सकेको थिएन।
पहिरोले घरबारविहीन बनाएका छिमेकीका बालबालिका रमाएको देख्दा स्थानीय बिर्खबहादुर कार्कीलाई एकातिर खुसी लागिरहेको थियो भने अर्कोतिर आफ्नै चारजना आफन्त गुमाएको पीडाले मन भारी बनाइरहेको थियो।
साउन ३० गते वर्षासँगै आएको पहिरोले गाउँमा ठुलो विपत्ति निम्त्याएको थियो। पहिरोमा परी चारजनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए। १४ परिवारका १४ वटै घर पूर्ण रूपमा क्षति भएका थिए। त्यस्तै, दर्जनौँ अन्य घरसमेत जोखिममा परेका थिए। पहिरोले घर मात्रै भत्काएन, वर्षौँको मिहिनेत, पसिना, सम्झना र भविष्यका सपनासमेत बगाएर लग्यो।
घरबार गुमाएका ती १४ परिवार अहिले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्। हरेक वर्ष आफ्नै घरमा परिवार र आफन्तसँग दसैँ मनाउँदै आएका उनीहरूको यस वर्षको पर्व टेन्टभित्रै सीमित भयो।
न सुत्न खाट छ, न सुरक्षित छानो। चिसो भुइँमा त्रिपाल बिछ्याएर रात काट्नुपर्ने बाध्यता रहेको प्रभावित परिवारको गुनासो छ। घरबारविहीन भएपछि दैनिक जीवन कसरी अघि बढाउने र आगामी दिनमा कहाँ बस्ने भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ। यस्तो कठिन परिस्थितिमा पनि बालबालिका भने केही क्षण दुःख बिर्सेर नाचगानमार्फत खुसी खोजिरहेका थिए।
‘एकातिर घरबार गुमाएका छिमेकीका बालबालिका रमाएको देख्दा खुसी लाग्यो, अर्कोतिर आफ्ना आफन्तको सम्झनाले आँखा रसाए,’ कार्कीले भावुक हुँदै भने, ‘घरमा टीका लगाउन आफन्तहरू पर्खिरहेका थिए। छिटो आउन भन्दै पटक–पटक फोन आइरहेको थियो। तर, टेन्टभित्र देखेको दृश्य र गुमाएका आफन्तको सम्झनाले गर्दा मेरो पाइला नै ढिलो चलिरहेको थियो।’
पुनर्स्थापनाको प्रतीक्षामा प्रभावित परिवार
पहिरो गएको लामो समय बितिसक्दा पनि घरबार गुमाएका परिवार अस्थायी आश्रयमै बस्न बाध्य छन्। चिसो भुइँमा त्रिपाल बिछ्याएर रात काट्नुपर्ने अवस्थाको अन्त्य गर्न र जोखिममा रहेका परिवारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने प्रभावितहरूको माग छ।
यसैबिच, जिल्ला विपत् व्यवस्थापन समितिले विपतबाट भएको क्षतिको आकलन गरी १६ घरपरिवारलाई लाभग्राही कायम गरेको छ। बाढीपहिरोबाट प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि रकमसमेत पठाइएको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार प्रभावित १४ घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार २५ हजार रुपैयाँका दरले रकम नगरपालिकाको विपत् कोषमा पठाइएको छ।
उनका अनुसार जिल्ला विपत् व्यवस्थापन समितिले तत्काल अस्थायी आवास निर्माणका लागि रकम पठाएको र नगरपालिकाले सम्बन्धित परिवारसँग सम्झौता गरी उनीहरूको खातामा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। दसैँअघि नै पहिलो किस्ताबापतको रकम नगरपालिकाको खातामा पठाइएको उनले बताए।
तर, सरकारी प्रक्रिया अघि बढेको भनिए पनि प्रभावित परिवारका लागि सुरक्षित आवासको व्यवस्था कहिले हुन्छ भन्ने प्रश्न अझै बाँकी छ। अरूका घरमा दसैँको रौनक छाइरहँदा टेन्टभित्र पर्व मनाउन बाध्य यी परिवारका लागि अबको मुख्य चाहना आफ्नै घरको सुरक्षित छानामुनि फर्किन पाउनु हो।