काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दसैँपछि सरकार ढाल्ने भन्दै घोषणा गरेको आन्दोलनबारे प्रश्न गरेका छन् ।
शाहीले प्रचण्डले दसैँपछि आँधी, बेरी र तुफान ल्याउने, सरकार ढाल्ने तथा सात लाख मानिस सडकमा उतार्ने बताएको प्रसंग उल्लेख गर्दै आन्दोलनको तयारी कहाँ पुगेको छ भन्दै व्यंग्य गरेका हुन् ।
उनले भनेका छन्, ‘कमरेड प्रचण्डज्यूले दसैँपछि आँधी, बेरी र तुफान ल्याउँछु, सरकार ढाल्छु, सात लाख मान्छे सडकमा उतार्छु भन्नुभएको थियो नि ! दसैँको टीका सकिएको पनि एक दिन भइसक्यो । अब एक–दुई दिन मात्रै बाँकी छ । त्यसैले कमरेड, आँधी कहाँसम्म आइपुग्यो ? तुफान कति टाढा छ ? बेरी चल्न थाल्यो कि फेरि जंगलमै हराउने हो ?’
शाहीले अहिलेको आवश्यकता सरकार ढाल्ने र नयाँ सरकार बनाउने खेलमा लाग्नु नभई सरकारलाई काम गर्न खबरदारी गर्नु रहेको बताएका छन् । सरकारले राम्रो काम गरे समर्थन र प्रोत्साहन गर्नुपर्ने तथा काम नगरे खबरदारी गर्दै सचेत गराउनुपर्ने उनको भनाइ छ ।
‘अहिलेको समय सरकार ढाल्ने र नयाँ सरकार बनाउने खेलमा लाग्ने होइन । अहिलेको आवश्यकता सरकारलाई काम गराउन खबरदारी गर्ने हो । सरकारले राम्रो काम गर्छ भने समर्थन र प्रोत्साहन गरौँ, काम गर्दैन भने खबरदारी र सचेत गराऔँ,’ शाहीले भनेका छन् ।